काठमाडौं । शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ ।
नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ । पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ।
स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:
-स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।
-आमाले स्तनलाई C (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ ।
-शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण खाली हुनेगरी दूध खुवाउनु पर्दछ । त्यसपछि अर्कोपट्टिको स्तनपान गराउनु पर्दछ । शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ ।
-दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
-सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तैः दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।
-सुत्केरी भएको ४२ दिन भित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानु पर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।
-सुत्केरी भएको ४५ दिनसम्म नियमित रुपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानु पर्दछ ।
-दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकालाई सम्पर्क गर्नु पर्दछ ।
-एचआइभी सङ्क्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ । तर एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्छ ।
बालबालिकाको लागि स्तनपानको महत्व:
आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ ।
यो सधैँ सफा र सुरक्षित हुन्छ ।
यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ ।
यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ ।
यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
बालबालिकाको लागि यो पूर्ण खाना हो । यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु प्रर्याप्त मात्रामा हुन्छ ।
यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।
यो बालबालिकाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ ।
यसले एलर्जी विरुद्ध रक्षा गर्छ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिदैन ।
यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । ६ महिना पछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ ।