एजेन्सी । कहिलेकाहीँ हृदयघात हुन्छ भनेर डराउनुलाई सामान्य मानिन्छ । तर हृदयघात हुन्छ भन्ने डरले सधैँ सताउँछ भने, उक्त मानिसलाई कार्डियोफोबिया भएको हुनसक्छ । कार्डियो भनेको मुटुसँग सम्बन्धित र फोबिया भनेको डर हो । फोबिया एक प्रकारको एन्जाइटी डिसअर्डर हो ।
यसले दैनिक जीवनमा बाधा पुर्याउन सक्छ ।कार्डियोफोबियामा एक व्यक्तिलाई हृदयघात हुने डर हुन्छ । जसकारण एक मानिसले अन्य काममा ध्यान केन्द्रित गर्न सक्दैन । यो फोबियाबाट पीडित व्यक्तिलाई मुटुको धड्कन अनियमित हुँदा अझ बढी डर लाग्छ ।
छाती वा हातमा दुखाइ हुँदा कार्डियोफोबियाका बिरामीले आफूलाई मुटुसम्बन्धी रोग लागेको महसुस गर्छन् । मानिसहरूलाई धेरै कारणहरूले कार्डियोफोबिया हुन सक्छ । परिचित व्यक्तिको मृत्यु हृदयघातबाट भएमा पनि कुनै मानिसलाई कार्डियोफोबिया सुरु हुन सक्छ ।
एन्जाइटी, मुटुको धड्कन तेज हुनु, रिङ्गटा लाग्नु, उच्च रक्तचाप, बेहोस हुनु, अचानक पसिना आउने, शरीर काँप्ने, छाती दुख्नु कार्डियोफोबियाको लक्षण हुन् । माथिका कुनै पनि लक्षणहरू अनुभव भएमा पहिला मुटुको जाँच गराउनु आवश्यक हुन्छ।
यीमध्ये धेरै लक्षणहरू वास्तविकमा हृदयघातको सङ्केत हुन सक्छ । सबै परीक्षण गरिसकेपछि पनि मुटु रोगको बारेमा चिन्तित भएमा डाक्टरलाई बताउनुपर्छ ।
कार्डियोफोबियाको उपचारको लागि मनोवैज्ञानिकसँग परामर्श लिन सकिन्छ । फोबियाका बिरामीहरूलाई घरमै श्वासप्रश्वासको अभ्यास र ध्यान गर्न सल्लाह दिइन्छ । यसले दिमागलाई शान्त पारेर एन्जाइटीलाई कम गर्छ ।साथै मुटुको स्वास्थ्य थाहा पाउन वर्षमा दुईपटक मुटुको जाँच गराउनुपर्छ ।