काठमाडौं- गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । प्रायः मानिसहरुले यसलाई गर्भ रोक्ने साधनको रुपमा मात्र बुझेका हुन्छन् । यसले कसरी काम गर्छ र शरीरमा केहि हानी पुर्याउंछ कि पुर्याउंदैन भनेर बुझेकै हुँदैन । त्यसैले यसको प्रयोग अव्यवस्थित रुपमा गरिरहेका हुन्छन् जसले गर्दा दीर्घकालीन समस्या वा बाँझोपनबाट ग्रसित हुन पुग्छन् ।
गर्भनिरोधक साधनका प्रकार
गर्भनिरोधक साधनको कामको हिसाबले यसलाई मुख्य ३ प्रकारमा बाँड्न सकिन्छ:
स्थायी गर्भनिरोधक साधन
यस अन्तर्गत विभिन्न प्रकारका बन्ध्याकरण ९भ्यासेक्टोमी, मिनी ल्याप, ल्याप्रोस्कोपी० गरिन्छ । यी विधि अपनाएपछि गर्भ बस्ने सम्भावना हुँदैन ।
अस्थायी गर्भनिरोधक साधन
यस अन्तर्गत कण्डम, मिश्रित चक्की (पिल्स) , डिपो प्रोभेरा (तीनमहिने सुई), नरप्लान्ट, पाठेघरमा राख्ने साधन (कपर-टी), आई, यू.सि.डी, इम्प्लाण्ट्स्, आदि पर्छन् ।
अस्थायी गर्भनिरोधक साधनले डिम्ब निष्कासनमा कमि ल्याई महिलाको योनिरसलाई वीर्यका लागि प्रतिकुल पारेर वा भ्रूणलाई पाठेघरमा टाँसिन नदिएर गर्भ रोक्ने काम गर्छ । प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकुल बनाइराखिने भएकाले नै गर्भ बस्न नसक्ने हो । यसको असर अस्थायी साधनको प्रयोग गरिरहंदा सम्म मात्र हुने भएकाले पनि डाक्टरहरु यसको नियमित प्रयोग गर्न सल्लाह दिन्छन् ।
त्यसैले अस्थायी गर्भनिरोधक साधनको प्रयोग छोड्ने बित्तिकै गर्भ रहन सक्छ । र बाँझोपनसँग यसको कुनै सम्बन्ध नहुने विभिन्न जानकारहरु बताउँछन्।
बढ्दो उमेर र तनावले पनि गर्भ बस्न गार्हो हुने गर्छ । त्यसैले सन्तान प्राप्तिको इच्छा भए २२ देखि ३५ वर्ष भित्रै योजना गर्नु उचित हुन्छ ।
आकस्मिक गर्भनिरोधक साधन
आकस्मिक गर्भनिरोधक साधन असुरक्षित यौन सम्पर्कबाट गर्भ बस्न नदिन महिलाले प्रयोग गर्ने खाने चक्की हो । यस अन्तर्गत अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता विभिन्न प्रकारका चक्की पर्छन् ।
यसको सेवन असुरक्षित यौन सम्बन्धको ७२ घण्टाभित्र गर्नुपर्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिन्छ । आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ ।
जसले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्नदिँदैन । जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो ।
यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न नदिने र यदि भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । यस साधनको प्रयोगले शतप्रतिशत गर्भ रहन्न भन्ने चाहिं हुँदैन । यसको प्रयोग उचित तरिकाले गरे यसको प्रभाव राम्रै हुन्छ अन्यथा विभिन्न समस्या र बाँझोपन समेत हुन सक्छ ।
आकस्मिक घटनामा एक दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । यसको प्रयोगले वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुने भए पनि केहि समयमा आफैं हराएर जान्छ । धेरै पटक वा अव्यवस्थित प्रयोगले भने निम्न समस्याहरु आउन सक्छन् ।
छोटो अन्तरालमा अर्थात् धेरैपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरेमा महिनावारी गडबढि हुन सक्छ । त्यस्तै, कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्ने, पेट दुख्ने र समयमा महिनावारी नहुने समस्या देखिन सक्छ । बिस्तारै महिलाको प्रजनन स्वास्थ्यमा पनि विभिन्न नकारात्मक असर देखिन सक्छ ।
आकस्मिक गर्भनिरोधक साधनको प्रयोग नियमित गर्ने महिलामा पछि गएर चाहेको वेलामा गर्भ नरहन सक्छ । कतिपयमा बाँझोपनको समस्या समेत देखिन्छ ।
आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भइ मुड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ वा माइग्रेनको समस्या हुने जस्ता समस्या देखिन सक्छ । कार्डियोभास्कुलर समस्या जस्तै, हृदयाघात, स्ट्रोक, रगत जम्नेलगायत दीर्घकालीन समस्या देखिन सक्छ ।
विभिन्न अध्ययनअनुसार, आकस्मिक गर्भनिरोधक साधनले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, ओभरियन क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छन् ।
गर्भ रोक्नका लागि आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसकारण यौनरोगको जोखिम बढ्छ । आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता पातलो बनाइदिन्छ । जसका कारण गर्भतुहिने सम्भावना बढेर जान्छ ।
गर्भनिरोधक साधनको उचित प्रयोग गरे यसले इच्छा नगरिएको समयमा गर्भ बस्नबाट रोक्छ । यदि भविष्यमा सन्तान प्राप्ति गर्ने सोचमा भएमा कुनै प्रकारको गर्भनिरोधक साधन प्रयोग गर्दा चिकित्सकको सल्लाह अवश्य लिनुपर्छ र आफ्नो शरीर र उदेश्य अनुकुल हुने साधन प्रयोग गर्नुहोस् ।
साभार - बास्तल्य नेचुरल आइभिएफ