बालबालिकामा बर्खा मौसममा विभिन्न खालका रोग देखिने गर्छन् । बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरूलाई नै रोगले छिटो आक्रमण गर्छ । त्यसैले यस्तो मौसममा बालबालिकाको विशेष ख्याल राख्न जरुरी हुन्छ । यो मौसममा बालबालिकामा देखिने एउटा समस्या एस्कारियासिस अर्थात् जुकाको समस्या पनि हो ।
के हो एस्कारियासिस ?
एस्कारियासिस एउटा रोग हो, जुन परजीवी जुका एस्कारिस लुम्ब्रिकोइडेसका कारण मानिसमा लाग्ने गर्छ । यस्ता समस्याबाट ग्रसित व्यक्तिमा जुकाको संख्या कम मात्रामा छ भने यसले लक्षण देखाउँदैन । विशेषगरी, यस्तो परजीवीले बालबालिकालाई छिटो संक्रमण गर्छ । र, यस्तो रोगले आक्रमण गरेमा तौल केही बढ्ने, कुपोषण हुने र सिकाइमा समस्या उत्पन्न हुने गर्छ ।
यसरी फैलन्छ
दिसामा पाइने जुकाका अन्डा मिसिएको दूषित खाना तथा पानीको प्रयोगले यसको संक्रमण हुन्छ । त्यस्ता अन्डा ठूलो आन्द्रामा गएर कोरलिन्छन् र आन्द्राको भित्तामा प्वाल बनाउन थाल्छन् । जुन रगतका माध्यमबाट फोक्सोसम्म फैलिने गर्छ । अनि त्यस्ता भाइरस वायुकोष्ठिकामा छिर्छन् र श्वासनलीसम्म पनि पुग्छन् । मानिसले यस्तो भाइरस पुनः खकार वा थुकका माध्यमबाट बाहिर निकाल्छन्, अनि पुनः अर्कोमा सर्ने गर्छ । लार्भाहरू पेट हुँदै दोस्रोपटक ठूलो आन्द्रासम्म पुग्छन् र वयस्क जुका बन्छन् ।
लक्षण
-सास फेर्न कठिन हुने
-ज्वरो आउने
-पेट सुन्निने, दुख्ने
-झाडापखाला लाग्ने आदि ।
रोकथाम
उचित सरसफाइका माध्यमले यसको रोकथाम गर्न सकिन्छ । त्यसैले सफा शौचालयको व्यवस्था गर्ने र दिसाको उचित व्यवस्थापन गर्नुपर्छ । कुनै पनि फोहोर कुरा छोएपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ ।
उपचार
यसको उपचारमा एल्बेन्डाजोल, मेबेन्डाजोल, लेभामिसोल वा पिरान्टेल पोमाओटलगायतका औषधि सेवन गर्न सकिन्छ । तर, यस्ता औषधिको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिन भने भुल्नुहुँदैन ।