काठमाडौं । सुरक्षामा खटिएका प्रहरीलाई छक्याएर विराटनगर महानगरपालिका–१० स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट एक जना कोरोना सङ्क्रमित प्रतिवादी फरार बनेका छन्।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास सुरक्षा एवम् निगरानीमा खटिएका प्रहरीलाई छलेर भागेका हुन् । उपचारका लागि भर्ना गर्दा दासको ठेगाना विराटनगर–१६ भनेर टिपाइएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । तर प्रहरीको रेकर्डमा भने ठेगाना विराटनगर–१८ उल्लेख छ ।
शौचालय जाने बहानामा दास राति १० बजेतिर फरार बनेको राजवंशीले बताए । दासलाई लेनदेन मुद्दामा अदालतले तीन वर्षअघि नै दोषी ठहर गरेको थियो । दोषी ठहर गर्दै २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाइएका उनी सजाय भुक्तान नगरिकन भागिरहेका थिए ।
तीन वर्षदेखि भागिरहेका उनलाई घरगाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते पक्राउ गर्यो । पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको थियो । त्यसअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो ।
कोरोना पुष्टि भएपछि दासलाई कारागार चलान गरिएन । उपचारका लागि साउन २० गते नै कोभिड अस्पताल भर्ना गरियो । फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा फरार बनेका हुन् । दासको निगरानी एवम् सुरक्षामा प्रहरी हवल्दार होमबहादुर बुढाथोकी र सहायक हवल्दार उमेश यादवलाई खटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले दासको सुरक्षा एवम् निगरानीमा खटिएका प्रहरीमाथि छानबिन थालेको छ । फरार रहेका सङ्क्रमित प्रतिवादी दासको खोजी तीव्र पारेर घटनाको छानबिन अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । ठाउँठाउँमा प्रहरी परिचालन गरेर शङ्कास्पद स्थानलाई निगरानीमा राख्दै खोजी व्यापक बनाइएको उनको भनाइ छ ।