काठमाडौँ । पछिल्ला केही महिनायता मंकीपक्स संक्रमणको जोखिम पनि बढ्दै गएको छ । सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०का अनुसार ३ अगस्टसम्म ८७ वटा मुलुकमा मंकीपक्स संक्रमित भेटिएका छन् । तीमध्ये ८० वटा योभन्दा अगाडि मंकीपक्स नदेखिएका र ७ वटा पुराना देश छन् ।
८७ देशमा २६ हजार २०८ जनामा संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई ३० जुनमा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।मंकीपक्स भाइरस के हो, यो कसरी एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्छ,तथा मंकीपक्स भाइरस नेपाल भित्रिन नदिनका लागि सरकारले के कस्तो तयारी गरेको छ भन्नेबारे महिला स्वास्थ्यकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीको एक अंश :
मंकीपक्स भाइरस के हो ?
एसियामा सन् २०१९ मा सिङ्गापुरमा नाइजेरियाबाट आएका व्यक्तिलाई मङ्कीपक्स भाइरस देखिएको थियो । मङ्कीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्कीपक्स राखिएको थियो । मानिसमा भने सन् १९७० मा कंगोमा पुष्टि भएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अफ्रिकाभन्दा बाहिर व्यक्ति तथा जनावरबाट यो भाइरस सरेको हो ।
प्रारम्भिक लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिबिरा देखिने, फुट्ने, सुक्ने र झर्ने गर्छन्। बिबिरा अनुहार तथा हातखुट्टामा बढी देखिने र दुईदेखि चार हप्तामा आफैँ निको हुने गर्छ । मङ्कीपक्स भाइरस नेपालमा पनि आउन सक्ने भन्दै सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट प्रमुख समेत रहेका डा. शेरबहादुर पुन बताउँछन् ।
उनका अनुसार मंकीपक्स भाइरस संक्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिन्छ। सुरुको अवस्थामा लक्षण अरू संक्रामक रोगसँग मिल्दोजुल्दो देखिने भन्दै उनले ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता प्रारम्भिक लक्षण देखापर्ने बताएका छन् ।
सावधानी जरुरी छ, तर डराउनु पर्दैन
डा. पुनले १० संक्रमितमध्ये एकको जटिलताका कारणले मृत्यु हुने सम्भावना रहेको भन्दै मंकीपक्स भाइरस मानिसमा संक्रमित मानिसको शरीरबाट निस्कने तरल पदार्थ वा रगतबाट सर्न सक्ने हुँदा त्यसबाट बच्न आग्रह गरेका छन् ।
डा. पुनका अनुसार मङ्कीपक्सको विशेष औषधि छैन । तर बिफर तथा ठेउलासँग मिल्ने रोग भएकाले बिफर तथा ठेउलाको उपचारमा प्रयोग हुने औषधि तथा भ्याक्सिन प्रयोग गर्न सकिने अवस्था रहन्छ । तर नेपालमा बिफर उन्मुलन भएको धेरै समय भएकाले यसको औषधि तथा भ्याक्सिन हाल प्रयोेगमा छैन ।
सरकारको तयारी कस्तो छ ?
विश्वभर चिन्ताको रुपमा लिइएको मंकीपक्स भाइरसलाई रोक्नतर्फ लाग्नुपर्ने विज्ञहरुको सुझाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले अफ्रिकी मुलुक, युरोप तथा अमेरिका र बेलायतमा समेत मङ्कीपक्स फैलिएको जानकारी दिँदै नेपालमा सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
उनले मंकीपक्स भाइरस नेपालमा भित्रन नदिन हालसम्म खास तयारी भने नभएको स्पष्ट पारेका छन् । सरकारले प्रभावकारी तयारी नगर्दा भाइरस नेपाल भित्रिन सक्ने जोखिम त्यत्तिकै छ । यसतर्फ ध्यान दिनुपर्ने सरकारका अधिकारी औल्याउँछन् । तर देखिने गरि तयारी भने देखिँदैन।
खोप र उपचारको कत्तिको उपलब्ध छ ?
यो भाइरसले दशकौँदेखि समुदायलाई असर गरिरहेको भए पनि यसका खोप र उपचार उपलब्ध छैन । यो भाइरस बिफर निम्त्याउने भाइरससँग धेरै मिल्दोजुल्दो भएकाले बिफरको खोप पनि दुवै रोगका लागि प्रभावकारी हुने विज्ञले बताएका छन्।
‘युनाइटेड स्टेट्स सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसी’ले आफ्नो वेबसाइटमा मङ्कीपक्स संक्रमणको लागि हाल कुनै विशेष उपचार उपलब्ध नभएको तर औषधिद्वारा यसको फैलावट नियन्त्रण गर्न सकिने बताएको छ । अफ्रिकामा यसको प्रयोगको बारेमा पछिल्लो तथ्याङ्कले यो मन्कीपक्सलाई रोक्न ८५ प्रतिशत प्रभावकारी भएको देखाएको छ।
पहिले पनि धेरै फैलिएको थियो मंकीपस भाइरस
मङ्कीपक्सको पहिलो संक्रमण सन् १९७० मा कंगो गणतन्त्रमा देखिएको थियो । त्यसपछि यो संक्रमण मध्य र पश्चिम अफ्रिकाका धेरै देशहरूमा आवधिक रूपमा फैलिएको छ । अफ्रिका बाहिर मङ्कीपक्सका केसहरू विरलै देखिए पनि हालैका वर्षहरूमा अमेरिका, बेलायत, इजरायल र सिंगापुरमा संक्रमण देखिएको विभिन्न अध्ययन अनुसन्धानबाट देखिएको छ ।
अहिले बेलायतमा यस रोगका केसहरू रिपोर्ट गरिएको छ । तर यसअघि पनि सन् २०१८, २०१९ र २०२१ मा बेलायतमा यस रोगका केसहरू देखिएका थिए। पहिले अफ्रिकाबाट बाहिर भेटिएका संक्रमितहरुको संख्या निकै कम थियो ।
विगतका अनुभवहरूले स्वास्थ्य अधिकारीहरूलाई यो भाइरसको बारेमा जानकारी मात्र दिएका छैनन्, यसलाई कसरी रोक्ने भनेर पनि सिकाएको छ । जसले ढिलै भए पनि केही रोकथाम तथा उपचारको प्रयास हुने विज्ञहरु बताउँछन्।