काठमाडौं । संसारमा स्वस्थ्य, निरोगी, दीर्घजीवि रहनु सबैको चाहना हो । यसका लागि सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । रोग लागेपछि औषधि–उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । अतः योग एक यस्तो पद्धती हो, जो रोगमुक्त जीवनको लागि सहायक हुन्छ ।
सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । त्यसैले स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा हामी निरोगी, जवान, उर्जावान् बन्न सक्छौं ।
योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये योगको आठ अंगहरु हुन् । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि ।
यम
अरुलाई मन, बोली–वचन, व्यवहारबाट दुःख नदिनु । यममा अहिंसा पनि पर्छ । जस्तै, सत्य बोल्नु, चोरी नगर्नु, छलकपट नगर्नु । ब्रम्हाचर्य रहनु, अहिंसा, सत्य, अस्तेय, ब्रम्हचार्य, अपरिग्रह यसमा समावेश छ । ब्रम्हाचर्यको दुई अर्थ छन्, चेतनालाई ब्रम्हाको ज्ञानमा स्थित गर्नु र सबै इन्द्रिय जनित सुखमा संयमित हुनु ।
नियम
नियम अर्थात पाँच व्यक्तिगत नैतिकता । यसमा शौच अर्थात् शरीर र मनको शुद्धि, सन्तोष अर्थात् सन्तुष्ट र प्रशन्न रहनु, तप अर्थात् आफूलाई अनुशासित गर्नु, स्वाध्याय अर्थात् आत्मचिन्तन गर्नु, ईश्वर प्रणिधान अर्थात् ईश्वरप्रति पूर्ण श्रद्धा राख्नु ।
आसन
जहाँ सुखपूर्वक र स्थिर बस्न सकिन्छ त्यो आसन हो । उक्त आसन प्रयत्नको शिथिलता र अनन्त–परमात्मामा मन लगाएर शिद्ध हुन्छ । यि आसनको सिद्धीले चिसो, गर्मी, भोक, प्यास, हर्ष, विषाद आदि द्वन्द्वबाट आघात पुग्दैन ।
प्राणायाम
आसनमा सिद्धी भएपछि श्वासप्रश्वासको गति लयबद्ध हुनु नै प्राणायाम हो ।
प्रत्याहार
वासनाहरुबाट इन्द्रियलाई पूर्ण मुक्ति दिलाउनु । इन्द्रियको वाह्यवृत्तिलाई आफ्नो नियन्त्रणमा राखेर मनमा विलिन गर्ने अभ्यास नै प्रत्याहार हो ।
धारणा
मनलाई आफ्नो वशमा राख्नु नै धारणा हो ।
ध्यान
जुन वस्तुमा मन लगाइन्छ, त्यसमा एकाग्र हुनु नै ध्यान हो । लक्षित वस्तुमा मनको स्थिती क्षण मात्रामा भएपनि अविचलित भएर एकै प्रकारको प्रवाहमा रहनु ध्यान हो ।
समाधि
जसको ध्यान गरिरहेको हो उसको स्वरुप शून्य भएर केवल ध्यान मात्र आभास हुन्छ, त्यही समाधि हो ।
किन गर्ने योग ?
–योग सबै उमेर समूहका मानिसले गर्न सक्छन् । हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । जसको माध्यमले रोगी व्यक्ति निरोगी बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पुग्छ ।
–योगले सकारात्मक सोचको विकास गराउँछ । मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ ।
–बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ । त्यसैले, शरीरमा अक्सिजनको मात्रा पूर्ति गराउन बिहानको समय योग गर्नु उपयुक्त हुन्छ ।
–खासगरी योगमा शरीर, दिमाग र सास तीन चिजको तालमेल हुन्छ । जब यी तीन एक लयमा हुन्छ, तब हामी स्वस्थ हुन्छौं ।
–योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन् । शरीरमा रक्तसञ्चार बढ्छ । साथै, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।
– शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गरेमा विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।
–नियमित रुपले योग गर्दा तौल नियन्त्रण हुन्छ ।
– तनाव व्यवस्थापनका लागिसमेत योग एकदमै उपयोगी मानिन्छ । योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ ।
–स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रष्फुटन गर्न योग उपयुक्त माध्यम हो ।
– बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण छ ।
–उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । तर, सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन ।
–नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ ।
–योग गरेपछि प्राणवायु शरीरको सबै ठाउँमा राम्ररी संचार हुन्छ । यसले अनावश्यक एवं हानिकारक द्रव्य नष्ट गर्छ । विकार हटाउँछ । यही कारण गहिरो निद्रा लाग्छ ।
– नियमित योगले मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त हुन्छ । यसले गर्दा हाम्रो कार्य क्षमता पनि बढ्छ । लामो समयसम्म हामीभित्र ऊर्जा कायम रहन्छ ।
– योगले मानसिक तनाव, वेचैनी, डिप्रेसन आदिबाट मुक्त गर्छ । मनभित्रको विकार हटाउँछ । इर्श्या, मोह, वासना, क्रोध आदि विकार हटाउँछ र प्रेम, करुणा एवं सकारात्मक सोच विकास गर्छ ।
– योगको सोझो प्रभाव हाम्रो शरीर र स्वस्थ्यमा पर्छ । योग सुरु गरेदेखि नै हामीले शारीरिक रुपमा केही परिवर्तन अनुभव गर्न सक्छौं । आसन अनुसार शरीरका अंगहरुमा त्यसले पार्ने प्रभाव पनि अलग छन् ।
योग गर्दा शान्त, खुला स्थान बढी उपयोगी हुन्छ । दुर्गन्धित, कोलाहलपूर्ण स्थानमा योग गर्नु राम्रो हुँदैन । घरको छत, बगैंचा वा खुला कोठा जहाँ पनि योग गर्न सकिन्छ । योग गर्दा सजिलो पहिरन लगाउनु पर्छ । योग गर्ने स्थान पनि सजिलो हुनु पर्छ । योग गरिरहँदा कुनैपनि उपकरण राख्नु हुँदैन । जस्तै घडी, मोवाइल ।
कस्तो रोगलाई कस्तो योग ?
मधुमेह
रगतमा ग्लुकोजको मात्रा सन्तुलित नभएर देखापर्ने रोग हो, मधुमेह । यो रोगबाट बच्नका लागि खानपिनमा चोकरयुक्त खाना खाने, कार्बोहाइड्रेटयुक्त खाना नखाने र हरियो तरकारी खानु पर्छ । त्यसका साथै विभिन्न योगादि कार्यहरू गर्नुपर्छ ।
मधुमेह नियन्त्रणमा सहयोग पु¥याउने योगादि क्रियाहरू :
आसन : सूर्य नमस्कार, ताडासन, शशकासन आदि ।
प्राणायाम : भ्रामरी, भास्त्रिका, नाडी शोधन ।
कब्जियत
कब्जियत अहिले धेरै मानिसमा व्याप्त रहेको पेटको समस्या हो । वर्तमान समयमा हामीले खाने धेरैजसो खाद्य पदार्थहरू तेलजन्य कुराहरू र मैदाबाट बनेका हुन्छन् । जसले कब्जियत निम्त्याउने मुख्य काम गर्छ । हरियो सागपात, प्रशस्त मात्रामा फलफूल खानाले र प्रशस्त मात्रामा पानी पिउनाले यो रोगबाट बच्न सकिन्छ । आसन, प्राणायाम तथा षट्कर्म जस्ता योगादि कार्यले कब्जियत नियन्त्रणमा सहयोग पुर्याउने गर्छन् ।
कब्जियत नियन्त्रणमा सहयोग पुर्याउने योगादि क्रियाहरू :
आसनहरु : सूर्यनमस्कार, पवन मुक्तासन, सुप्त बज्रासन, अर्धमत्स्येन्द्रासन, मकरासन, मत्स्यासन, उष्ट्रासन, योगमुद्रा
प्राणायाम : नाडी शोधन
षटकर्म : लघुशंख प्रक्षलन, नौली, अग्निसार
पाइल्स
कब्जियत बढ्दै गएपछि दिसा गर्न गाह्रो भएपछि गुदद्वारमा देखा पर्ने समस्या हो, पाइल्स । यसबाट बच्नका लागि पीरो, मसलेदार एवं चिल्लो खानेकुरा खान रोक्नु पर्छ । यसका साथसाथै योगासन, प्राणायाम, षट्कर्मजस्ता योगादि कार्य गर्नु राम्रो मानिन्छ ।
पाइल्स नियन्त्रणमा सहयोग पुर्याउने योगादि क्रियाहरू : आसनः पश्चिमोत्तानासन, योगमुद्रा, गोरक्षासन, मकरासन, हलासन, सर्वाङ्गासन
उच्च रक्तचाप
कुनै कारणले रक्तनली साँघुरो वा कडा भएमा रक्तनलीमा प्रचुर दबाब पर्दछ जुन उच्च रक्तचाप हो । यस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खानामा नुनको मात्रा कम गर्ने र बढी भन्दा बढी रेसादार तथा फलाहारमा जोड दिने गर्नुपर्छ । त्यस्तै विभिन्न योगादि क्रियाहरू गर्नुपर्छ । उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने योगादि क्रियाहरू :
आसन : पवन मुक्तासन, ब्रजासन, सिद्धासन
प्राणायाम : कपालभाती, नाडी शोधन
निम्न रक्तचाप
शरीरमा रगतको अवस्था सामान्यभन्दा कमी हुनुलाई निम्न रक्तचाप भनिन्छ । जसले मानिसलाई धेरै हानि पुर्याइरहेको हुन्छ । रक्तचापलाई सामान्य अवस्थामा राख्न पानी प्रशस्त मात्रामा पिउने, फलफूल, जुस तथा हल्का सुपाच्य भोजन आवश्यकता अनुसार खाने र विभिन्न योगादि क्रियाहरू गर्नुपर्छ ।
निम्न रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने योगादि क्रियाहरू :
आसन : सूर्य नमस्कार, कर्णपीडासन, गतिशील आसनहरू
प्राणायाम : कपालभाती, भास्त्रिका, सूर्यभेदी
दम
दम श्वासप्रश्वाससँग सम्बन्धित एउटा रोग हो । धुवाँ, धुलो लगायतको वातावरणीय प्रदूषणबाट जोगिनु पर्छ र चिसोबाट जोगिनु पर्छ । यसबाट बच्नका लागि तरकारी तथा चोकर खानेकुरा खानुका साथै योगादि क्रिया गर्न सकिन्छ ।
दम नियन्त्रणमा सहयोग पुर्याउने योगादि क्रियाहरू :
आसन : सूर्यनमस्कार, सुप्त बज्रासन, सर्वाङ्गासन, मार्जारी आसन, उष्ट्रासन, मत्स्यासन, पादहस्तासन, शवाशन आदि ।
प्राणायाम : भस्त्रिका, कपालभाती आदि ।
मोटोपना
शरीरको तौल चाहिनेभन्दा बढी हुनु नै मोटोपना हो, जसले गर्दा शरीरमा अनावश्यक रुपमा बोसो बढ्छ र शरीर भारी तथा रोगको थुप्रो बन्दछ । मोटोपनाबाट बच्नका लागि व्यायाम महत्वपूर्ण पर्छ ।
मोटोपना नियन्त्रणमा सहयोग पुर्याउने आसनहरू : सूर्यनमस्कार, गतिशील पादहस्तासन, बज्रासन, पवनमुक्तासन, विपरीतकरणी आसन, मत्स्यासन, मयूरासन, मकरासन आदि ।
अनिद्रा
रातमा निन्द्रा नलाग्नु नै अनिद्रा हो । यसले मानिसमा मानसिक तनाव हुनुका साथै विभिन्न रोगहरू लाग्न सक्छ ।
अनिद्रा हटाउनमा सहयोग पुर्याउने योगादि आसनहरू : सूर्य नमस्कार, ताडासन, सुप्त बज्रासन, उष्ट्रासन, धनुरासन, मकरासन, हलासन आदि ।
त्यसैले जीवनमा योगादि क्रियाहरू गर्न सकियो वा योगादि क्रियामा हाम्रो जीवनलाई समाधिस्त गर्न सक्यौं भने हामी स्वस्थ र निरोगी रहनेछौं ।