परिचय -
लागु औषध सेवन एक प्रकारको मेन्टल डिसअडर हो । धेरै मानिसहरुलाई यो एक प्रकारको मेन्टल डिसअडर हो भन्ने थाहा नभएका कारण लागुऔषध सेवनलाई मानिसको चरित्रसँग जोडेर हेर्ने गरिएको छ ।
लागु औषध सेवनले मानिसको केन्द्रीय स्नायु प्रणाली असर गर्छ । जसकारण मानिसहरु वास्तविक तथ्यलाई झुटा मान्ने,तथा झुटा कुरालाई वास्तविक मान्ने प्रकृतिका बन्छन् । लागुऔषधमा गाँजा,चरेस,भाङ, ब्राउन सुगर लगायत पर्छन् । लागु औषधलाई प्राकृतिक तथा औषधीजन्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
गाँजा,भाङ,अफिम लगायतका लागु औषध प्राकृतिक अन्तर्गत पर्छन् । यस्ता लागु औषधको उत्पादन खेती गरेर गरिन्छ । यदि जीवनरक्षाका लागि बनाइएको औषधिहरुलाई चिकित्सकको सल्लाह बिना नै प्रयोग गरिन्छ भने त्यसलाई औषधिजन्य लागु औषध भनिन्छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब १ लाख ३० हजार लागु औषधको प्रयोगकर्ता रहेका छन् । त्यसमा करिब ९३.३ प्रतिशत पुरुषहरु तथा ६.७ प्रतिशत महिलाहरु रहेका छन् । नेपालमा वर्षेनी ५ प्रतिशतको दरले लागु औषध प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । औसत १९ वर्षको युवा उमेरमा नै उनीहरुले लागु औषधको प्रयोग गर्ने गरेका छन् । यसले युवा पुस्तामा लागु औषधको समस्या बढिरहेको छ भन्न सकिन्छ ।
बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता,मनोरन्जन ,उत्सुकता,अशिक्षा,स्मार्ट देखाउन र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण युवाहरु लागुपदार्थको प्रयोग गर्न पुग्छन् । महामारीका रुपमा आएको कोरोना संक्रमणले पनि लागु औषध सेवनका प्रयोगकर्ताहरु बढिरहेका छन् ।
लागु औषध सेवन गरेको कसरी थाहा पाउने ?
लागु औषध सेवनकर्ताहरुमा देखिने शारीरिक तथा सामाजिक लक्षणहरुका आधार व्यक्ति लागु औषधको सेवन गरिरहेको छ भन्ने परिवारले पनि थाहा पाउन सक्छ । एक्कासी व्यक्तिको बानी व्यवहारमा परिवर्तन हुनु, घुलमिल कम हुनु,एक्कासी रिसाउने,एकान्तमा बस्न रुचाउने,एकदमै झुटो बोल्न जस्ता व्यवहार देखाएमा त्यस्ता व्यक्ति लागु औषध सेवनमा फसिरहेको छ भन्ने शंका परिवार तथा आफन्तले गर्न सक्छन् ।
लागु औषध दुव्र्यसनमा फसेका व्यक्तिहरुले आँखा रातो रातो हुने , जतिबेला पनि लठ्ठ परेजस्तो देखिने,बोली लर्बराउने,सरसफाइमा खासै ध्यान नदिने जस्ता शारीरिक परिवर्तनहरु देखाउन सक्छन् । खानामा अरुचि, तौल घट्दै जानु,निन्द्रामा गडबड लगायतका लक्षणहरुका आधारमा अभिभावकहरुले आफ्ना छोराछोरी लागु औषधको दुव्र्यसनमा फसेको थाहा पाउन सक्छन् ।
बिद्यार्थीको व्यवहारमा एक्कासी परिवर्तन भई छिन खुसी हुने तथा छिनमै दुखी भएमा,बिना कारण कक्षा कोठामा रिसाउने,पढाइमा ध्यान नदिनु, साथीहरुसँग घुलमिल हुन नसक्नु,बिनाकारण स्कुलमा अनुपस्थित हुने जस्ता व्यवहार बिद्यार्थीले देखाएको खण्डमा शिक्षकहरुले बिद्यार्थी लागु औषधको सेवनमा फसेको शंका गर्न सक्छन् ।
लागु औषध सेवनबाट कसरी बच्ने
लागु औषध सेवनबाट बच्ने विभिन्न उपायहरु छन् । जसमा यसका फस्न नदिनका लागि प्रिमोडियल तथा प्राइभरी प्रिभेन्सनको महत्वपूर्ण हुन आउँछन् । जसलाई प्रिभेन्टिभ कन्ट्रोल पनि भनिन्छ । विद्यालय स्तर देखि लागु औषधको सेवन तथा यसले मानिसलाई पर्ने सक्ने असरहरु जनचेतना दिन आवश्यक हुन्छ । समुदाय स्तरमा यसबारेमा विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु पनि गर्न सकिन्छ । लागु औषध सेवनलाइै प्राथमिकता दिने खालका विज्ञापनहरु आमसञ्चार माध्यमबाट हटाउनपर्ने हुन्छ ।
लामो समयसम्म लागु औषध सेवन गरिसकेका मानिसहरुलाई पहिलाकै स्थितीमा फर्कनका लागि औषधिको सहारा लिनुपर्ने हुन्छ । यस्तो लत लागिसकेका मानिसहरुलाई त्यस्तो लतबाट छुट्याउनका लागि अस्पताल नै भर्ना राखेर पनि उपचार गर्न सकिन्छ । सरकारी तवरबाट नै आमसञ्चार माध्यममा आउने लागु औषध प्रयोग सम्बन्धि विज्ञापनहरुलाई प्रतिबन्ध लगाउनु आवश्यक छ ।
सुरुवातको समयमा मोज मज्जाको रुपमा प्रयोग गरिने लागु औषध सेवन लामो समयपछि मानिसको बाध्यता बन्न जान्छ । उपचार पश्चात् यो समस्यामा भएका मानिसहर पूर्णरुपमा निको हुन सक्छन् । उपचारका लागि अस्पतालसम्म आइपुग्ने लागु औषध प्रयोगकर्ताहरुको संख्या एकदमै न्यून रहेको छ ।
(विराट मेडिकल कलेजमा कार्यरत्त डा.मिश्रले नयाँदिल्लीस्थित एम्स मेडिकल कलेजबाट एम.डी गरेका हुन्।)