काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’को स्थापना भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षितरूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी खोलिएको ‘ह्युमन मिल्क बैंक’ को औपचारिकरुपमा उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गरेकी हुन् ।
यो बैंक स्थापना गर्न प्राविधिक सहयोग युनिसेफले गरेको छ भने स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘पाथ’ले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । नेपाल मल्टी इन्डिकेटर क्लष्टर सर्भे( मिक्स) २०१९ अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत मात्र छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्तनपानले बच्चाको पहिलो खोपको रूपमा काम गर्छ जसले उनीहरूलाई बाल्यकालका सामान्य रोगहरूबाट बचाउँछ। जन्मेदेखि ६ महिनासम्म बच्चालाई पूर्ण रुपमा स्तनपान गराउँदा शिशु मृत्युदरलाई धेरै हदसम्म घटाउन सकिने तथ्यांकहरूले देखाएका छन् । आमाको दूध शिशुहरूको लागि सुरक्षित, सफा र एन्टिबडी समावेश हुन्छ जसले बाल्यकालका सामान्य रोगहरूबाट जोगाउन मद्दत गर्दछ।
मिल्क बैंकले आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गर्नेछ । अस्पतालकी नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डा कल्पना सुवेदी भन्छिन्–‘आमाले आफ्नो बच्चालाई पुगेर बढी भएको दूध अरु बच्चालाई दान दिने हो ।
यदि कुनै कारणले बच्चाले दूध खान सक्दैन तर आमाको दूध आउँछ भने संकलन गरिन्छ ।’ उनका अनुसार उमेर नपुगी जन्मिने बच्चामा दूध तान्न सक्ने शक्ति हुँदैन र धेरै बिरामी बच्चा छ भने उसले दूध खान सक्दैन। जहाँ वार्षिक २२ देखि २४ हजार डेलिभरी हुन्छ । अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेका छन् जसमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् । जसलाई डेलिभरीपछि कम्तीमा दुई दिन दूधको आवश्यकता पर्छ ।
जुन ‘ह्युमन मिल्क बैंक’ बाट हुनेछ । त्यसैगरी सघन उपचार कक्षमा उपचार गराइने शिशुहरूलाई पनि ‘ह्युमन मिल्क बैंक’ले सहायता गर्नेछ । शल्यक्रिया गरेर जन्मिएका शिशुहरूमा फर्मूला दूधहरूको बढ्दो प्रयोग देखिने गरेको छ ।
ह्युमन मिल्क बैंक’ले यसको निदान गर्ने आंकलन गरिएको छ । अस्पतालले मासिक १००० जना बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ ले प्रत्यक्ष रुपमा लाभ दिने आंकलन गरेको छ ।