चाड पर्व आउन लाग्यो , अब भेट्घाट गर्ने , भोज खाने काम शुरु हुन्छ । साथ साथ शुरु हुन्छ रक्सी पिउने काम । सन्स्कार , सन्स्कृती , चलनको नाममा नेपालका पत्र-पत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा ‘लेखक, , पत्रकार, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन्’ भन्ने भान पर्ने अन्तर्वार्ता छापिन्छ ।
रक्सीलाई मनमस्तिष्क तीव्र पार्ने वस्तु जस्तै देखाइन्छ । यसबाट पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु खासै नराम्रो होइन रहेछ । तर समयभन्दा अघि नै मृत्युको मुखमा गएका गायक नारायणगोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असर बारे प्रायः कोही बोल्न चाहँदैन ।
‘पोलिटिकल्ली इन करेक्ट’ भइएला कि भनेर, त्यसमाथि पनि केही चिकित्सकहरूले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यको लागि फाइदै छ भनेपछि धेरै मानिसलाई अरू के चाहियो र ? यस्ता निहुँहरू पाएपछि युवा पिंढीमा हामीले रक्सी खाएर के नै पो नराम्रो हुन्छ र भन्ने मानसिकता निर्माण हुन्छ । तर वास्तवमा यसले कतिको जीवन, स्वास्थ्य, पैसा खराब गरिरहेको छ भनेर बुझ्न धेरै टाढा जानु पर्दैन ।
विराटनगरको घटना मलाई एक जना व्यक्तिले सुनाएका थिए । विवरण यस्तो छ- नेपालका एक प्रसिद्ध कवि आफ्नो रक्सी खाने बानीले गर्दा श्रोतालाई कविता सुनाउन मञ्चमा बसेका बेला निदाएका थिए । प्रसिद्ध कविको कविता सुन्न श्रोताहरू लालायित थिए । तर कवि अघिल्लो राति बेस्सरी रक्सी खाएर मातेर बान्ता गरी ढिलो सुतेका रहेछन् ।
बिहानपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरू कविले कविता सुनाउँदा सुनाउँदै उनी सोफामा नै लमतन्न सुतेर घुर्न थाले । उनले कसरी कविता भन्नु ? उनलाई उठाएर पुनः होटलमा नै लैजानु पर्यो । उनी सुती नै रहे । ती कवि नेपालमा प्रसिद्ध छन् । मानिस पनि भलाद्मी नै छन् । रक्सी खाएपछि उनको कविपन नै हराउँदो रहेछ । भारतका प्रसिद्ध सिने कलाकार गुरुदत्त पनि असाध्य रक्सी पिउँथे ।
वहिदा रहमानसँग उनको प्रेम प्रसंग गाँसिन नसकेपछि उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौं । सिने पत्रिकामा पढ्थ्यौं पछि उनले पनि आत्महत्या गरे । सानो हँुदा त केही लाग्दैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको शिकार थिए कि ? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि ? फिल्मी प्रेम प्रसंगमा सफल नभएपछि रक्सी खाएको देख्दा लाग्छ मानौं रक्सी पिउनु खासै नराम्रो कुरा होइन ।
कतै दुःख परे पनि वा खुसी भए पनि रक्सी पिउने प्रचलन देखाउँदा यस्तो लाग्छ मानौं रक्सी नभए त जीवन नै चल्दैन ।मानसिक रोग विशेषज्ञ नै रक्सीको बारेमा भन्छन् कि, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन, मात्र हानिकारक छ । कवि, कलाकार, राजनीतिज्ञलगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ । रक्सीले शारीरिक र मानसिक क्रियालाई दबाउँछ ।
संवेदनशील मानसिक क्रिया आत्ममूल्यांकन, सक्रियता र संयम पनि दबिन्छ र परिणामस्वरुप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रामक स्वभाव, उत्ताउलोपन माथि आउँछन् र रक्सी खाएर लागेको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन् ।’पुरुष वा महिला रक्सीको कुलतमा फसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने मैले धेरै देखेकी छु ।
रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिटै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको चाहना हुन्छ । रक्सी खाएर अति योग्य कलाकारहरूले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन् । छारेरोग लागेको मानिसले रक्सी खाएर बेहोश भएर जीवन नै सिध्याएका घटना गाउँघरमा प्रशस्तै पाइन्छन् ।
केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ । जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो प्रत्येक व्यक्तिको हातमा छ ।