जनकपुरमा ३ सय शय्याको अस्पताल बनाउने तयारी थालिएको छ । व्यावसायिक घराना बतास अर्गनाइजेसनले जनकपुरमा अत्याधुनिक अस्पताल बनाउने भएको हो ।
बतासअन्तर्गतको बापो होल्डिङ्सद्वारा सञ्चालित मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले जनकपुरमा ३ सय शय्याको अस्पताल बनाउने तयारी गरिएको हो ।साथै महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनको तयारी गरिएको छ ।
मणिपालले २४ वर्षअघि नै ३५ बिघा जग्गा खरिद गरेर इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भनिएको थियो । त्यति बेला मणिपालमा भारतीय व्यवस्थापन थियो ।
तर, तत्कालीन द्वन्द्वका कारण कलेज सञ्चालन गर्न सकेको थिएन । २७ करोड रुपैयाँ खर्च भइसकेको भौतिक संरचना अहिले भग्नावशेष बनेका छन् ।
कोभिड–१९ महामारीको समयमा मधेस स्वास्थ्य प्रतिष्ठानले कोरोना अस्पतालका रूपमा ती संरचना प्रयोग गरेको थियो ।
बतासले सञ्चालन गरिरहेको मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्न लागेको अध्यक्ष आनन्दराज बतासले बताए ।
उक्त गु्रपले जलेश्वरमा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनुका साथै जनकपुरमा अस्पताल स्थापना गर्न लागेको हो ।
जलेश्वरमा मणिपालको तत्कालीन सञ्चालक समूहले अढाई दशकअघि खरिद गरेको करिब पाँच बिघा जग्गामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइएको बतासले बताए ।
ग्रुपले प्रदेश सरकारमार्फत प्रतिष्ठानलाई उक्त भवन खाली गर्न आग्रह गरिएसँगै अस्पताल भवननजिकै रहेको गुठी संस्थानको जग्गा भाडामा सञ्चालन गर्ने गरी करार सम्झौता गरिसकेको छ ।
मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओभिनले जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेजको निर्माणकार्य तत्काल थालिने बताएका छन् । २४ वर्षअघि नै जग्गा खरिद गरिए पनि त्यहाँ हालसम्म नक्सापास गर्ने कामबाहेक अरू कुनै कार्य भएको छैन ।
उक्त स्थानमा सञ्चालनमा आउने विभिन्न कलेजमा स्थानीयलाई रोजगारी र छात्रवृत्तिमा पहिलो प्राथमिकता दिइने जनाइएको छ ।