एजेन्सी ।नेपालमा हरेक एक लाख मानिसमध्ये १८२.५ जना मानिसहरू फोक्सोको पुरानो रोगका कारण मृत्यु हुने एउटा अन्तर्राष्ट्रिय अध्ययनले जनाएको छ। त्यो अध्ययनका अनुसार हरेक वर्ष करिब ३ हजार मानिस त्यही रोगका कारण असक्त वा दीर्घ रोगी हुने गरेका छन्।
अध्ययनले भनेको छ- विश्वमै यो अनुपात एकदमै उच्च हो।क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडि) भनिने यी रोगहरूको उत्पत्ती सबै वातारणीय कारणले हुने अध्ययनले जनाएको छ। अध्ययनका एकजना लेखक तथा क्यानडाको मोन्ट्रियल म्याकगिल विश्वविद्यालयको इपिडिमियोलोजी विभागका प्रध्यापक जे काउफम्यानले वातावरणीय प्रदुषणका कारण यी रोगहरूले मानिसहरूलाई च्याप्दै लगेको बताएका छन्।
सिओपिडि एउटा त्यस्तो रोगहरुको समूह हो जो स्वासप्रश्वाससँग सम्बन्धित छ र त्यसले मानिसको स्वास प्रणालीलाई अवरोध गर्दछ।
गरिब एशियाली देशहरूमा खासगरी धुमपान, खाना पकाउँदा निस्किने धुँवा, घरभित्रैबाट हुने वायु प्रदुषण, बाहिरको वायु प्रदुषण यी रोगका मुख्य कारक हुन्।
‘यी देशहरूमा सिओपिडीको देखिएको मृत्यु दरहरू निकै भयानक छन्। अनि यी जो कारणहरू छन् ती पनि चिकित्सहरूको नियन्त्रण बाहिर छन्’ काउफम्यानले भनेका छन्।
अध्ययनका अनुसार हरेक एक लाख जना बिरामीमा १७८ देखि ३३१८ जना बिरामीसम्म फोक्सोको समस्याग्रस्त हुन्छन्। यो हरेक दिन आउने तथ्याङ्क हो। अकालमा यसरी ज्यान गुमाउनेहरूको दैनिक संख्या र त्यही कारण स्वस्थ जीवन गुमाउनेहरूको संख्याले हरेक वर्षको तथ्याङ्कलाई भयानक देखाउँछ।
यस्तो तथ्याङ्क हेर्ने हो भने फोक्सोको रोगबाट जीवन गुमाउने वा पीडित हुनेहरूको संख्या नेपालमा सबैभन्दा धेरै छ। यही तथ्याङ्कको अनुपातमा हेर्ने हो भने नेपालमा हरेक एक ला बिरामीमध्ये ३३१८, पपुवा न्यूगिनीमा २९०३, सोलोमोन आइसल्याण्डमा २१७९ तथा सबैभन्दा कम बारबाडोसमा १७८, एन्टिगुआ र बारबुडामा १७८ तथा पेरुमा १९० जना यस्ता पीडितहरू छन्।
अध्ययनका लेखकहरूका अनुसार सिओपिडीका कारण नेपालमा सबैभन्दा उच्च मृत्युदर देखिएको छ। त्यसको मुख्य कारण वायु प्रदुषण हो। उनीहरूका अनुसार करिब २६ प्रतिशत मृत्युको एकमात्रै कारण त्यही वायु प्रदुषण देखिएको छ। र अरू मृत्युमा वायु प्रदुषण एउटा मुख्य कारण हो। त्यसमा अरू पनि सहायक कारणहरू गाँसिएका हुनसक्छन्।
उनीहरूले नेपालमा दुई दशकमा दश गुणाभन्दा बढी सवारी साधनले सहर ढाकिरहेको र वायु प्रदुषणमा पेट्रोलियमबाट चल्ने सवारी साधनको धुँवा एउटा प्रमुख योगदान रहने दाबी पनि गरेका छन्। र उनीहरूले नेपाल सरकारले नीतिगत रूपमै वायु प्रदुषण रोक्न असक्षम भएको निश्कर्ष पनि निकालेका छन्।
बिट्रिस मिडिया जर्नल (बिएमजी)मा प्रकाशित यो अध्ययन १९९० देखि २०१९ सम्म गरिएको हो। त्यसमा खासगरी २०४ देशमा सिओपिडि रोग समूहमा केन्द्रित रहेर अध्ययन गरिएको थियो।
‘२०१९मा मात्रै विश्वभरि सिओपिडि सम्बन्धि करिब २१३.३ मिलियन बिरामीहरू देखिएका छन्। र त्यसबाट करिब ३३ लाख मानिसको मृत्युको एउटा प्रमुख कारण सिओपिडि नै हो’ अध्ययनले भनेको छ ‘खासगरी बृद्ध र बयस्कहरूलाई यो रोगले बढी आक्रमण गरिरहेको छ।
भारतको कोलकातास्थित फोर्टिस अस्पतालकी पल्मोनोलोजी विभागकी निर्देशक डा. सुष्मिता रोय चौधरीका अनुसार सिओपिडिका धेरैजसो बिरामीहरू रोगको अन्तिम चरणमा मात्रै अस्पताल पुग्छन्। त्यतिबेला सिओपिडि एउटा कारण देखिन्छ।
उनका अनुसार नेपालजस्ता विकासशील देशमा बसोबास गर्ने कम्तीमा ४० वर्ष पुगेका हरेक मानिसले फोक्सोको नियमित जाँच गराउन निकै आवश्यक छ।
‘यसबाट अरू रोगहरूमा पत्तामात्रै लाग्दैन। त्यसको प्रारम्भिक उपचार र निदानका लागि पनि सहयोग पुर्याउँछ’ उनी भन्छिन्।
काउफम्यानका अनुसार गरिब देशहरूका लागि फोक्सोको यो प्राणघातक आक्रमणबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय भनेको सुरूवातदेखि नै आफै सचेत हुने हो। धुमपानलाई निषेध गर्दै लैजाने र घरभित्रै उत्पादन हुने निकै हानिकारक धुँवाबाट बच्नु नै यसबाट जोगिने पहिलो उपाय हो। त्यसका लागि दाउरा बाल्ने चुल्होलाई आधुनिक ग्यास वा विद्युतीय चुल्होमा रुपान्तरण गर्न सकिन्छ।
‘किनकि गरीब देशहरूमा एक त चिकित्सकीय सेवा नै सहज हुँदैन र मानिसको पहुँच पनि पुग्दैन’ उनी भन्छन्।
यो अध्ययनले नेपाललाई प्रशस्त विद्युत उत्पादन र र खपत गर्न अनि स्वच्छ नवीकरणीय उर्जाको उत्पादन र प्रयोग बढाउन पनि सुझाव दिएको छ। सहरी क्षेत्रमा बढ्दै गएको पेट्रोलियम सवारी साधनहरू तथा फोहोर जलाउने कारण पनि वायु प्रदुषण बढिरहेको भन्दै अध्ययन प्रतिवेदनले त्यही वायु प्रदुषण नै फोक्सोको लागि निकै खतरनाक भएको जनाएको छ।
अध्ययन प्रतिवेदनको यो समाचार साइन्स एन्ड डेभलपमेन्ट नेटवर्क (www.scidev.net)ले प्रकाशित गरेको छ।