काठमाडौं । हाल नेपालमा अझ विशेष गरी शहरी क्षेत्रमा बच्चा जन्माउन शल्यक्रिया ‘सिजेरियन सेक्सन’को प्रचलन बढ्दो छ ।
निजी अस्पताल तथा सरकारी अस्पतालमा पनि चिकित्सकले बिना कारण सिजेरियन गरी दिन्छन् भन्ने धारण व्यापक छ । जसलाई केही हद नकार्न सकिदैन । प्राकृतिक रुपमा बच्चा जन्माउनु सबैभन्दा उपयुक्त हो भन्ने ज्ञान सबैलाई हुँदा पनि प्राकृतिक डेलिभरीका लागि लामो समय कुनुपर्ने भएकाले छिटोछिटो सिजेरियन गरेर प्रसव पिडाबाट मुक्ति पाउन शल्यक्रिया रोजेको पाइन्छ ।
आजका आमाहरु पिडा पनि चाहँदैनन् र उनीहरुमा धैर्यताको अभाव पनि उत्तिकै छ । दोस्रो कुरा स्वास्थ्य संस्थाले जोखिम लिन चाहदैनन् ।शल्यक्रिया गर्नु पर्ने विभिन्न कारणहरु मध्ये सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित हुनु, पेटभित्र नै बच्चाले दिशा गरेमा, गर्भवतिलाई उच्च या कम रक्तचाप हुनु, बच्चा उल्टो वा तेर्सो बसेमा, आमालाई मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
प्राकृतिक अवस्थाबाट नै बच्चा जन्माउनु आमा तथा शिशुका लागि उत्तम हुन्छ । तर पनि कतिपयले शल्यक्रियाका लागि नै दबाब पनि दिन्छन् । अर्को कुरा चिकित्सा क्षेत्रमा देखिएको विकृतिले गर्दा जे कुराको दोष पनि डाक्टरलाई नै दिने गरिन्छ । त्यसैले आजभोली चिकित्सक तथा स्वास्थ्य संस्था जोखिम लिन चाहदैनन् र शल्यक्रिया गरिदिन्छन्।
नरमल डेलिभरी भनेको नितान्त बिरामीको हितका लागि हुने हो किनभने शल्यक्रिया गरेर बच्चा निकाल्नु डाक्टरको लागि नै सजिलोको कुरा हो । नरमल डेलिभरी गराउँदा केही समस्या देखिन सक्छ । यस्तो अवस्थामा डाक्टरलाई विश्वास गर्न सक्नुपर्छ ।
सिजेरियन र स्वास्थ्य
पहिलो बच्चा अप्रशेन गरेर निकालिएको हो भने दोस्रो पटक प्राकृतिक रुपमा बच्चालाई जन्म दिन सकिन्छ या सकिदैन यो धेरैको चासोको विषय हो । दोस्रो बच्चा जन्माउँदा नर्मल डेलिभरी गर्न सकिदैन भन्ने होइन तर कहिले काँही पाठेघर फुट्ने सम्भावना धेरै हुन्छ ।
विरामीको मञ्जुरी छ र प्राकृतिक रुपमा नै बच्चा जन्माउन सक्ने सम्भावना छ भने नर्मल तरिकाले नै बच्चालाई जन्म दिन सकिन्छ ।