अछाम । जिल्लाका दुर्गम स्थानका स्वास्थ्यकर्मीहरु ज्यान जोखिममा राखेर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन्। जिल्लाका दुर्गम ठाँउमा सहज यातायातको पहुँच नहुँदा जोखिम मोलेर भए पनि जनतालाई स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।
गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या कोरोना लगायतका खोप संचालन गर्न गाउँघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ। ठुलाठुला खहरे खोला र भिरपाखाको सामना गर्दै जोखिम मोलेर गाउँघरसम्म पुग्नुपर्ने बाध्यता स्वास्थ्यकर्मीलाई छ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा गाउँघर क्लिनिकमा खोप दिन गएका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर खोेला तरिरहेको तस्बिर सार्वजानिक भएको छ। सुतार स्वास्थ्यचौकीबाट करिब ३ घण्टाको पैदल दुरी हिँडेर खोला तर्नुपर्ने बाध्यता रहेको रामारोशन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिए। सो ठाँउका खोला वर्षामा सधैजसो बढेर आउने भएपनि हालसम्म झोलुंगे पुल समेत बन्न सकेको छैन।
केही दिनअघि खोप प्रदान गर्न गएका दुई जना स्वास्थकर्मीहरुको तस्बिर सार्वजानिक भएपछि अहिले उक्त ठाउँमा स्थानीयबासीले काठको पुल निर्माण गरेका छन्। यता जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर खोला पार गर्न लागेको तस्बिर सामाजिक सञ्जालमा राख्दै सरकारको ध्यानार्कषण गराएका छन्।
उनले तस्बिर सार्वजानिक गर्दै लेखेका छन, 'स्वास्थ्यकर्मीले खोप तथा क्लिनिक संचालन गर्न कहिलेसम्म यसरी जोखिममा मोल्नुपर्ने हो? स्थानिय सरकार, प्रदेश सरकार धेरै ठूलो बजेट पनि चाहिँदैन होला सानो झोलुंगे पुल बनाउन।'
जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका बेला खोलानाला बढ्ने र पुलसमेत नुहुँदा यात्रा गर्न कठिनाई भईरहेको छ। जिल्लाका भुलु रहफ, सुतार, सिउडी, सोकट लगायतका दुर्गम ठाँउमा सहज यातायातको व्यवस्था नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर यात्रा गर्नु परिरहेको छ।