काठमाडौं । जाडोको तुलनामा गर्मी मौसम रोगका लागि जोखिम मानिन्छ। विशेषगरी छालाजन्य तथा पेटजन्य रोगका लागि। स्वस्थ रहन व्यायाम जस्तै खानाको पनि ठूलो भूमिका हुन्छ। यदि खाना स्वस्थ भएन भने सिधै पाचनप्रणालीमा असर गर्छ।
यो मौसममा जाडाको तुलनामा शरीरको बिएमआर (शक्ति) कम खर्च हुन्छ। यस कारण शरीरले जाडोमा जस्तो गर्मीमा बढी खानाको माग गर्दैन। तर शरीरबाट पसिना बढी बगेर जाने र घामको तापकाले शरीरमा पानीको मात्रा भने केही बढी चाहिन्छ। यो आवश्यकतालाई नबुझेर कतिपय मानिसले कमजोरी महसुस पनि गर्छन्।
यो मौसममा शरीरलाई जाडोको जस्तो बढी शक्ति चाहिँदैन, कम क्यालोरी भएका फलफूल तथा खाना खान सकिन्छ, आँपजस्ता बढी क्यालोरी भएका फलफूल धेरै खानुहुुँदैन।
जुस या पानी खानैपरे दैनिक एक-दुईवटा फलफूल खान सकिन्छ। यसैगरी काँक्रा, खरबुजा, मूलाजस्ता फलफूल तथा सलाद पर्याप्त मात्रामा खान सकिन्छ। एउटा मानिसले दैनिक एक पाउसम्म खान सक्छन्।
दही या मही खानुपरे दैनिक दुईदेखि तीन गिलाससम्म खान सकिन्छ। नियमित खानामा बढी मसला, पिरो र चिल्लो हुनुहुँदैन। तरकारी भने प्रशस्त मात्रामा खान सकिन्छ।
तर मानिसको शरीरको तौल र उचाइअनुसार कति क्यालोरी खान मिल्छ भन्ने कुरा निर्धारण हुन्छ। गर्मीमा पसिना बढी बग्ने भएकाले पानीको मात्रा बढी चाहिन्छ। शरीरमा जलवियोजन नहोस् भन्न आवश्यकताअनुसार दैनिक तीन लिटरसम्म पानी पिउन सकिन्छ।