घाँटीमा हुने विभिन्न प्रकारका इन्फेक्सनका कारण बाथ मुटु रोग हुने गर्छ ।सामान्य खालको घाँटी दुख्नु, थुक निल्न गाह्रो हुनु, टन्सिल बढ्नु जस्ता समस्या असामान्य तथा जटिल बनेको अवस्थामा बालबालिकामा बाथ मुटु रोग हुने गर्छ ।
यो ज्वरोलाई चिकित्सकीय भाषामा बाथ ज्वरो अर्थात 'हीमोलाइटिक' फिभर भनिन्छ । बाथ ज्वरो विशेषगरी बच्चाहरुमा देखा पर्ने गर्छ ।पाँचदेखि देखि १५ वर्षको बच्चाहरुमाझ ‘आम’ रहेको यो रोग विशेषगरी सात- आठ वर्षको उमेरहरुमा बच्चाहरुमा धेरै देखिने गर्छ । बढी होहल्लामा बस्नु, एउटै कोठामा धेरै जना बस्नु जस्ता कारणले नेपालमा बाथ मुटु रोगको समस्या बढिरहेको पाइएको छ।
घाँटीमा ‘बेटा हीमोलाइटिक स्ट्रेप्टोकोेकस ग्रुप ए’ को व्याक्ट्रेरियाको संक्रमण भएमा संक्रमित केही बच्चाहरुमा बाथ ज्वरो विकास हुने गर्दछ । बाथ ज्वरो आएका मध्य पनि केहीको मात्र मुटुको भल्भ विग्रने गर्दछ । बाथ मुटु रोग लागेमा यस्ता लक्षण देखा पर्ने गर्छ।
कसरी चिन्ने बाथ ज्वरो ?
बाथ ज्वरो हुँदा सुरुमा घाँटी दुख्ने र ज्वरो आउँने हुन्छ। यस्तो समस्या ५ देखि ६ दिनभित्र आफैं ठीक हुन्छ। पुनः एकदेखि चार हप्ताभित्र ज्वरो बल्झिएर आउँछ। ज्वरो जति धेरै पटक बल्झिँदै जान्छ, स्थान परिवर्तन गर्दै घुँडा, कुर्कुच्चा, कुहिना र नाडीजस्ता जोर्नी पनि सुन्निने र दुख्ने हुन्छ।
यसको असर मुटुमा पर्छ। यसको आक्रमण बढ्दै जाँदा मुटुका भल्भ सुन्निने, खुकुलो वा साँघुरो हुने, मुटु नै सुन्निने र यसको फलस्वरुप मुटु हल्लिने, दम बढ्नेजस्ता समस्या थपिन्छ। कसैकसैलाई कुहिना, घुँडा, नलीखुट्टाजस्ता ठाउँमा छालामुनि सानासाना केराउका दानाजस्ता डल्ला देखापर्छन्। यस्ता डल्ला अल्पकालीन र बढीका एक वर्षसम्म पनि रहने हुन्छ। कसैलाई पेट वा ढाडमा नचिलाउने तर बीचमा सेतो र वरिपरी राता चक्काहरु भएको डाबर पनि देखिन सक्छ।
बाथ मुटु रोगका लक्षण
-मुटुको भल्भ विग्रिएमा स्वाँ स्वाँ आउने,
-सुत्दा वा व्यायाम गर्दा सास फुल्ने
-ज्वरो आउने
-जोर्नीमा असर भएमा जोर्नी दुख्ने, सुन्निने, तथा सुन्निएर हिड्नै नसक्ने अवस्थामा पुग्छ
-अनुहार तथा खुट्टा सुन्निने
-छालामा गाठागुठी आउने
-थकान तथा कमजोरी महसुस हुने
=छाती दुख्ने
-मुटुको धडकन तेज हुने वा अनियमित हुने
कसरी बच्ने ?
यस्ता रोगबाट बच्ने एक मात्र उपाय भनेको घाँटीको संक्रमण हुनबाट बचाउनु हो । घाँटीको संक्रमण भएमा तुरुन्तै बालरोग विशेषज्ञसित परामर्श लिनु पर्दछ । समयै उपचार गर्नु पर्छ । त्यस्तै, प्रत्येक तीन तीन हप्तामा बेञ्जाथाइन पेनेसेलिन नामक इन्जेक्सनको प्रयोगद्धारा पनि यो रोग लाग्नबाट बचाउन सकिन्छ ।