काठमाडौं । गर्मी बढेसँगै बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । अस्पतालहरुमा हरेक दिनजसो विरामीको संख्या बढ्दै छ । घमौरा, घाउ, खटिरा जस्ता समस्याबाट aधेरै बालबालिका बिरामी पर्न थालेका छन् ।
तराईका बालबालिकामा घमौरा
तराई क्षेत्रका धेरैजसो बालबालिकाले ‘घमौरा’ सामना गर्नुपर्छ । गर्मीमा पसिना बढी आउने र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द हुँदा छाला चिलाउने वा मसिना बिमिराहरु देखा पर्छन् ।
गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मेका बालबच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास नहुँदा घमौराको समस्या बढी देखिन्छ ।
कसरी जोगिने ?
गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो । बालबच्चालाई घाममा निस्कन दिनु हुँदैन । हल्का पातलो, खुकुलो सुतिको कपडा लगाइदिनुपर्छ । गुम्सिने, साँघुरो र बाक्लो कपडा प्रयोग गर्न दिनु हुँदैन ।
बालबच्चालाई सक्दो शितलमा ठाउँमा राख्नुपर्छ । घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ । पुछेपछि त्यो भागलाई हावामा सुक्न दिनुपर्छ।
गर्मीबाट हुने घमौराजन्य घाउ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन । सरसफाईमा ध्यान दिनुपर्छ । घरमै हेरचाह गर्दा पनि घाउ खटिरा निको नभएमा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजानु पर्छ ।