दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिएपछि सेवा लिने बिरामीको संख्या ह्वात्तै बढेको छ। यस अघि ओपीडीमा २ सय देखी ३ सय बिरामी उपचारका लागि आउने गरेकोमा अहिले सात सय बढी बिरामी उपचारका लागि आउने गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए।
बिरामीको सख्या बढ्दै गएपछि त्यसको व्यवस्थापनमा अस्पताललाई हम्मेहम्मे परेको छ। पछिल्लो समय अस्पतालले सेवा सुविधा फराकिलो बनाएपछि बिरामीको चाप बढ्न लागेको छ।
'बिरामीको माग अनुसार नै अस्पताल व्यवस्थापनले विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्सहरुको सख्या थपेका छौ। आइसियू, बच्चाको लागि एनआइसियू, पिआइसियू भएपछि दाङ लगाएत आसपासका जिल्लाबाट बिरामी आउन सक्ने भरपर्दो र विश्वासिलो अस्पताल बनाउन सफल भएका छौ।' रजिष्ट्रार थापाले भने।
‘प्रतिष्ठानको नाममा मेडिकल कलेजको लागि आउने जग्गा पनि अब क्याविनेटबाट निर्णय गरेर छिट्टै आएपछि अस्पतालले थप फड्को मार्छ नै।’ उनले भने।अस्पतालको विकास गर्ने कुरा साझा सरोकारको विषय बन्नुपर्ने भन्दै यसका लागि यहाँका अगुवाहरु निरन्तर लागी पर्नुपर्ने रजिष्ट्रार थापाको भनाई छ।
प्रतिष्ठानले नयाँ उपकुलपतिको रुपमा डा विकास लामिछाने आएपछि अस्पतालले सेवाहरु व्यवस्थित बनाउदै लगेको छ। उपकुलपति डा लामिछानेले आफ्नो कार्यभार सम्हाल्ना साथ प्रसूति सेवालाई निःशुल्क बनाउने घोषणा गर्नुका साथै वैशाख १ गतेदेखि त्यो घोषणासहितको निर्णय कार्यान्वयनमा आएपछि अस्पतालमा सेवा थपिएको छ।
रजिष्ट्रार थापाले अस्पतालको सेवालाई थप चुस्त दुरुस्त बनाउन अहिले सञ्चालनमा आएको अत्याधुनिक नयाँ भवनको फराकिलो ठाँउमा २८ वेडको सुविधा सम्पन्न इमरजेन्सी सेवा सञ्चालनमा ल्याईएको र प्रसूति सेवालाई प्रभावकारी बनाउन नयाँ भवनमा सार्न लागिएको जानकारी दिए। उनले अस्पतालमा बच्चाहरुको लागि १० देखि १४ वेड एनआइसियू र पिआइसियू बनाउने आफ्नो योजना रहेको बताए।
उनले २४ सैँ घण्टा अस्पतालमा डायलाइसिस सेवा पाउने गरी पुर्वाधार बनाउने काम चलिरहेको पनि बताए।प्रतिष्ठानमा हाल २३ जना मेडिकल अधिकृत र ३७ जना विभिन्न विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुलाई सेवा दिइरहेका छन्।