काठमाडौं । जुनसुकै उमेरका मानिसहरुले आजकाल जंग फुडको प्रयोग गर्ने गर्छन् । जंग फुड भन्नाले तयारी खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, आलुचिप्स, चिजबल्स, कुरकुरे, भुजुरी, चकलेट, क्याड्बरी, आइसक्रिम, केक तथा तुरुन्त तयार पार्न सकिने मम, पिज्जा, विभिन्न प्रकारका पेय पदार्थ,चटपटे, पानीपुरी जस्ता खानेकुरा भन्ने बुझिन्छ । यस्ता खानेकुरामा धेरै नुन, चिनी र चिल्लो हुन्छ तर भिटामिन, खनिज र फाइबर एकदमै कम हुन्छ ।
यस्ता खानेकुराहरुमा पोषणको मात्रा एकदमै न्यून हुने गर्छ । यस्ता खानामा बढीमा मात्रामा नुन, चिनी र चिल्लो हुन्छ तर भिटामिन, खनिज र फाइबर एकदमै कम हुन्छ ।जसले शरीरलाई फाइदा भन्दा पनि हानी गर्छ । जंक फुडको प्रयोगले मानिसलाई दीर्घकालीन रोगहरु लाग्छ । यसमा भएका हानिकारक तत्वहरूको असरले शरीरमा सुगरको मात्रा बढ्ने ,हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मृगौला सम्बन्धी समस्या, दाँतसम्बन्धी समस्या, कुपोषण, हाड सम्बन्धी समस्याहरु आउन सक्छन् । जंक फुडको बढी प्रयोग गर्ने मानिसहरुमा मोटोपनाको समस्या बढ्छ ।
जंक फुडअन्तर्गत बढी मात्रामा तारेका कुराहरु पनि पर्ने गर्छन् । त्यस्ता खानेकुराहरुमा ट्रान्सफ्याक्टको मात्रामा बढी हुने भएकोले यस्ता खानेकुराको प्रयोग गर्ने मानिसहरुमा क्यान्सरको जोखिम अन्यमा भन्दा बढी हुने गर्छ ।यस्ता खानेकुराले मुटु रोगको जोखिम समेत बढाउँछ ।
जंक फुडका असरहरू
-आवश्यक पौष्टिक तत्त्वहरूको कमी हुने
- निन्द्रा नलाग्नु - तौल बढ्ने र मोटोपन हुने
- रगतमा सोडियमको मात्रा बढ्ने
- मुटुसम्बन्धी रोग लाग्ने
- पेटसम्बन्धी रोगले सताउने
- पेप्टिक अल्सर हुने
- कलेजो खराब हुने
- दाँतमा कीरा लाग्ने
- मधुमेह हुने
- निराशापन बढ्ने
बालबालिकाहरुलाई जंक फुडको लतबाट कसरी हटाउने सहरीकरण तथा औद्योगीकरणको कारणले जंक फुड सर्वत्र उपलब्ध छन्। जंक फुडको अधिक उपभोगबाट सिर्जना हुने नकारात्मक असरबाट जोगाउन अभिभावकले विशेष ध्यान दिन जरुरी छ।
विशेषगरी बालबालिकाको पहुँच हुने स्थानमा स्वस्थकर खाना राख्ने गर्नुपर्छ। पुरस्कार वा कोसेलीको रूपमा जंक फुड नलैजाने, ठूलो मात्रामा जंक फुड घरमा नल्याउने र जंक फुडको उपभोगलाई क्रमशः निरुत्साहित गर्दै जाने गर्नुपर्छ।
यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जंक फुडको उपभोग सम्बन्धमा अभिभावक स्वयम् उदाहरणीय बन्नुपर्छ। यसो गर्न सके बालबालिकाहरूलाई जंक फुडको अधिक उपभोगबाट हुन सक्ने नकारात्मक प्रभावबाट जोगाउन सकिन्छ।