धनगढी। बाजुरा जिल्लामा पहिलोपटक प्रसुति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकले सेवा दिन सुरू गरेका छन ।
जिल्ला अस्पताल बाजुरामा बिहिबारदेखि वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाहले सेवा दिन सुरु गरेको जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बताए।
स्त्रीरोग विशेषज्ञ नहुँदा महिला त्यसमा पनि गर्भवतीलाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेपछि उपचारमा सहज हुने भएको छ।
बाजुरालाई स्वास्थ्य सेवाका हिसाबले पछाडि रहेको जिल्लाको रुपमा लिइन्छ। बाजुरा अस्पतालमा बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनुपर्ने अवस्था थियो।
अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी पाएलगत्तै स्त्रीरोग विशेषज्ञका लागि पहल सुरु गरेका डाक्टर मिलन जोशीले अब विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेपछि उपचारमा सहज हुने बताए।
उनले भने, ‘बिहिबारबाट स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गर्नु भएको छ, अब महिलाका धेरै समस्या समाधानका लागि जिल्लाका धेरै ठाउँमा स्वास्थ्य शिविर संचालन गर्नेछौं।’
अस्पतालमा अन्य सेवा र उपचार नियमित भइरहेको अवस्थाबीच पनि स्त्रीरोग विशेषज्ञ चिकित्सककाे अभावका कारण गर्भवती महिलाको उपचारमा समस्या अब हट्ने डाक्टर मिलनको भनाई छ।
‘दुर्गम जिल्ला भएकाले धेरै डाक्टरहरु बाजुरा आउन मान्दैनन्’ मिलनले भने, ‘कोही आइहाले पनि बस्न मान्दैनन्, अहिले बल्ल एकजना स्त्रीरोग विशेषज्ञ डाक्टर बाजुरा ल्याउन सफल भएका छौं।’