पेटभरी दाल, भात, तरकारी, मोही, लिटो, कोदो, फापर आदि खाद्य तत्व खाएमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्ने धेरैलाई थाहा भए पनि बेवास्ता गर्छन् ।
यस्ता स्वस्थकर वस्तुलाई प्रोत्साहन गर्न परिवार र समुदायले मात्र होइन कि स्वास्थ्य मन्त्रालयले समेत केही वास्ता गर्दैन । मैले केही मन्त्री, तीन जना सचिव, योजना आयोगका सदस्य र मुख्य सचिव समेतलाई पत्रु खानाले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ भनेर सुनाएकी थिएँ । स्वस्थ पोषण दिनुपर्छ भन्नुको अर्थ स्वास्थ्यमा लगानी गरिएको हो भनेर जानकारी दिएकी थिएँ ।
यो कुरा मैले विभिन्न पोषणविद् र बालरोग विशेषज्ञहरूसँग छलफल गरेर भनेकी थिएँ । यस्तो छलफलको निष्कर्ष थियो– ‘कुपोषण हुन नदिनका लागि पोषणयुक्त भोजन दिनुपर्छ । कुपोषण भइसकेपछि औषधिले होइन, पोषणयुक्त भोजनले नै कुपोषण निको पानुपर्छ ।’ अफसोच मन्त्रालयले यस्तो साधारण कुरा पनि नबुझेपछि समुदायको स्वास्थ्य नै जोखिममा परेको छ ।
स्वास्थ्य मन्त्रालय बच्चालाई कुपोषण नहोस् भनेर ‘काम नलाग्ने बालभिटा’ बाँड्छ तर बाल विशेषज्ञहरूले त्यसको विरोध गरिरहेका छन् । म जहाँ पुग्दा पनि महिला स्वयंसेविका र स्वास्थ्य कर्मचारीलाई भन्छु, ‘काम नलाग्ने बालभिटा आफ्ना समुदायका बालबालिकालाई नदिनुस् !’उहाँहरू भन्नुहुन्छ, ‘हामीलाई त त्यस्तै तालिम दिइएको छ ।
हामीलाई पनि थाहा छ कि यस्तो बालभिटाको काम छैन तर जबरजस्ती हामी अभिभावकलाई भिडाएर पठाउँछौं । कति आमाले त लगेर बाटोमै फालिदिएको पनि देखेका छौं । हामीले त कतिचोटि हाकिमलाई पनि भनिसकेका छौं कि बालभिटा आमाहरूले खुवाउँदैनन् । तर कसैले हाम्रो कुरा सुन्दैनन् ।’ यसको अर्थ के हो भने बाल स्वास्थ्यको वास्ता मन्त्रालयले गर्दैन, त्यसैले अभिभावक अब तपाइँहरू नै सजग हुनुपर्छ ।
हामीसँग भएको पौष्टिक तत्वको बारेमा स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरू समुदायमा कम बोल्छन् । त्यसैले घरको अण्डा, कोदो बेचेर गाउँघरमा ‘कमप्लान’ किन्छन् । सहरमा चाहिं बच्चालाई माया गरेको देखाउन बिस्कुट र चाउचाउ किन्छन् । यस्ता कति त स्कुलमा पनि बाँडिन्छन् । कृषि मन्त्रालयले निकालेको पोषणका किताब समुदायमा पुग्दैनन्, कृषि मन्त्रालयमा नै थन्किन्छन् । लट्टे, कोदो, फापर, तरुल आदि बारेमा कृषि मन्त्रालयले निकालेका पुस्तिकाहरूको सदुपयोग गरेर त्यसलाई समुदायमा पु¥याउने काम स्वास्थ्य र शिक्षा मन्त्रालय दुवैले गर्दैनन् ।
स्वास्थ्यकर्मीले पनि पोषणका बारेमा चाहिए जति ज्ञान बाँड्न सकिरहेका छैनन् । बरु यस्ता घरको पोषणलाई हेपेर कुपोषित बच्चालाई प्याकेटका खाना दिन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई प्रेरित गर्छ । यतिसम्म कि योजना आयोगको स्वास्थ्य र सामाजिक समितिले पनि पोषणको योजना बनाउँदैन । केही वर्षअघि मलाई योजना आयोगले स्वास्थ्यको एउटा समितिमा राखेको थियो तर मैले बारम्बार ‘पोषणको योजना र नीतिबारे समुदायमा छलफल गर्नुपर्छ’ भनेपछि त्यहाँ मलाई बोलाउनै छोडियो ।
कुपोषण विरुद्धमा घरको खाना प्रयोग गर्नुपर्छ भन्ने विचार सरकारी निकाय र स्थानीय सरकारहरूलाई बुझाउन गाह्रो हुन्छ । तर अभिभावकहरू बुझ्नुस् कि पोषण विभागको बालभिटा असफल भइसकेको छ । बच्चालाई त्यो नदिनुस् । कोदोको रोटी, भात र खोले (सुप) दिनुस् ।
कोरोनाको बेलामा शरीरलाई रोगसँग लड्ने शक्ति धेरै चाहिन्छ भनेर सबैले महसुस गरेका छन् । अभिभावकले पनि बालबालिकालाई पोषणले भरिपूर्ण खाना दिनुपर्छ भनेर बुझेका छन् । तर, नेपालमा पर्याप्त मात्रामा विभिन्न ऊर्जा, प्रोटिन र सूक्ष्म पोषणतत्व पाइने खानेकुराहरू भए पनि प्रयोग हुँदैनन् । अभिभावकले के बुझ्न जरूरी छ भने सन्तानलाई स्वस्थ बनाउन महँगा रङ्गीचङ्गी बट्टाका खाना होइन घरेलु खाना प्रयोग गर्नुपर्छ ।
यदि बा–आमाले बच्चालाई मनपर्छ भनेर पत्रु खाना दिंदै जाने हो भने यो त भविष्यमा बच्चाको स्वास्थ्य नराम्रो होस् भनेर श्राप दिएको भन्छु म त । सुन्दा अप्रिय लाग्ने यी कुराहरू बुझ्न सबैले जरूरी छ । चाउचाउ बनाउने कम्पनी मालिकले आफ्ना सन्तानलाई चाउचाउ दिंदैनन् । भात, रोटी दिन्छन् ।
बच्चालाई अनेक भिटामिन भएका खानेकुरा ख्वाउने नाममा हामीले हाम्रा रैथाने भोजनलाई वास्ता नगर्ने हो र बाहिरबाट ल्याइएको प्याकेट दिने कि नेपालमा नै रहेको बदाम, तिल, आलस, भटमास, केराउ, चनाको टुसा उमारेर त्यसको पीठो बनाएर सर्वोत्तम पीठो दिने ? भन्ने विचार मातापिताले गर्नुपर्छ ।
हाम्रा केटाकेटीले पछि दाल, भात, केरा, रोटी, हलुवा, फर्सीको तरकारीको स्वाद त बिर्सने छन् । सानैदेखि पत्रु र गुलियो खानाको लत भएपछि त जब उनीहरू मोटोपन र मधुमेहको सिकार बन्नेछन् तब मातापितालाई हेक्का हुनेछ कि सानैदेखि स्वस्थ खाना खान नसिकाएर गल्ती गरिएछ ।
केही दिनअघि एक परिचितको चार वर्षीय छोरालाई देखेर मैले भनें, ‘यो बच्चा त हट्टाकट्टा रहेछ नि !’ ‘यसको तौल ३० किलो छ, डाक्टरले तौल घटाउनु भन्नुभएको छ’ भन्दै ती आमाले ‘भात खान मान्दैन त्यसैले कुरमुरे र बिस्कुट ख्वाएर ल्याएकी हुँ’ भनेको सुन्दा मलाई त्यो बच्चाप्रति दया लाग्यो । उसै त ३० किलोको बच्चा ठूलो भएपछि झन् मोटोपन बढ्छ र २५ वर्षसम्ममा मधुमेह हुन सक्छ । यो बच्चालाई श्राप होइन त ?
बस्नेत थरकी एक ३० वर्षीया युवती ९० किलो कि थिइन् । उनीसँग कुराकानी गर्दा थाहा भयो कि सानोमा उनको खाना त केक, चाउचाउ, गुलिया पेय पदार्थ र बिस्कुट मात्र रहेछन् । विवाह भएपछि यस्तै खाने बानी रहेछ । श्रीमान्ले उनलाई यस्तो नखाउ भन्दा झगडै परेछ । मोटोपनको कारणले उनको गर्भ पनि नरहेको कुरा डाक्टरले बताएपछि बल्ल उनको आँखा खुल्यो । सबै पत्रु खाना र गुलियो पेय पदार्थ छोडेपछि ६ महिनामा उनको वजन २० किलो घट्यो । उनले मसँग भनेकी थिइन्, ‘सानोमा आमाले मलाई माया गरेर दिएको खानाले त मेरो जीवनमा विष नै घोलेको रहेछ।’
अहिले उनी गर्भवती छिन् र पत्रु खानाको विरुद्धमा अरूलाई पनि सिकाउँछिन् । उनी भन्छिन्, ‘मेरो बच्चालाई त पत्रु खाना दिंदैदिन्न । मैले पाएको दुःख उसले पाउनुहुँदैन ।’