भोजपुर-‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन्।
जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट रु सात करोड रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले जानकारी दिए। उनले भने, “योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु भएको छ। हालसम्म दुई रोपनी बढी जग्गा विश्वविद्यालयको नाममा पास भएको छ। अन्य आवश्यक जग्गा पनि खोजी भइरहेको छ।”
विश्वविद्यालयले निर्माणका लागि षडानन्दमा दुई सय ३३ रोपनी र खाँदबारी नगरपालिकामा तीन सय ७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णय भएबमोजिम खोजी प्रक्रिया थालनी गरिएको उनले जानकारी दिए।
जग्गा खरिद गर्नका लागि रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको नगर प्रमुख उदासले जानकारी दिए। षडानन्दको तर्फबाट योगमायाको समाधिस्थल मझुवाबेँसीमासमेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग रहेको उनले बताए।
सङ्खुवासभामा पनि विश्वविद्यालयको नाममा जग्गा खरिद भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रतिरोपनी रु एक लाखका दरले जग्गा खरिद गरिएको उनको भनाइ छ। भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी रु ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको उनको भनाइ छ।
भोजपुरतर्फको दुई सय ३३ रोपनी र सङ्खुवासभाको तीन सय ७२ गरी ६०५ रोपनी खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ। दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिए। डिपिआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ।
सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्दा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द –१ नेपालेडाँडामा भएको हो। देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालीन राणा सरकारसँग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधि लिएका थिए। सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए। उहाँहरूले समाधि दिएको ठाउँ षडानन्द–६ को मझुवाबेँसीमा पर्दछ।
समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा योगमायालाई चिनिन्छ। काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी धर्म भिक्षा माग्नुभएको थियो। जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उहाँमा थप क्रान्तिको विजारोपण भएको पाइन्छ। रासस