काठमाडौं । सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतवानीमूलक चित्र र सन्देश अनिवार्य छाप्न सरकारको नाममा परमादेश जारी गरेको छ ।
अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले सरकारको नाममा परमादेश जारी गरेको हो ।
आठ वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थ नियमन गर्न बनेको नियमावली संशोधन गरी सुर्तीजन्य पदार्थको खोलमा अंकित चेतावनीयुक्त चित्र तथा ¥यापरमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पु¥याउने निर्णय गरेका थिए ।
परिवर्तित निर्देशिकामा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्रांकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था थियो । यो व्यवस्था राखेबापत् त्यस बेला नेपालले १ लाख डलरको ब्लुम्बर्ग अवार्ड समेत जितेको थियो ।
सो निर्णयविरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले सर्वोच्चमा रिट दायर गरेको थियो । पर्फेक्ट ब्लेन्ड्स सर्वोच्च गएसँगै सुर्तीजन्य पदार्थविरुद्ध काम गरिरहेको संस्था एक्सन नेपाल पनि संशोधित नियमावलीअनुसार सुर्ती उद्योगले ९० प्रतिशत चेतावनीयुक्त चित्र नछापेको भन्दै सर्वोच्च गएको थियो । सो रिटविरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गरेका थिए । रिट परेको ८ वर्षपछि सर्वोच्चले सुर्ती उद्योगको रिट खारेजी गर्दै एक्सन नेपालका तर्फबाट हालिएको रिटको पक्षमा परमादेश जारी गरेको हो।
सर्वोच्चको फैसलासँगै वार्षिक २७ हजार १ सय ३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनण्सम्बन्धी संशोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ । यो आदेशपछि सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशका २०७१ साल लागू गर्न बाटो खुलेको छ ।
यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमूलक चित्रांकित स्वास्थ्य सन्देशले छोपिनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कात्तिक २०७१ का दिन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संशोधन गरेको थियो । तर, सो कार्यान्वयन हुने समय नआउँदै सुर्ती उद्योगीले सो निर्देशिका खारेज नै गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।