मधुमेहलाई अंग्रेजीमा डाइबिटिज मेलाइटिस भनिन्छ । डाइबिटिज र मेलाइटिस भनेको पिसाबबाट चिनी बग्नु हो । पहिला पहिला थाहा हुँदैन थियो । किनकी रगत जाँच गर्ने चलन थिएन । पिसाब फेरिसकेपछि पिसाबको वरिपरि कमिलाहरू आयो भने त्यो व्यक्तिलाई चिनी रोग लागेछ भन्ने गरिन्थ्यो ।
हाम्रो शरीरमा प्यांक्रियाज भन्ने ग्रन्थी हुन्छ । सो ग्रन्थीमा ‘बेटा सेल’ हुन्छ । बेटा सेल ग्रन्थीले इन्सुलिन निकाल्छ । इन्सुलिनले शरीरमा रहेको सुगरलाई ठाउँठाउँमा लगेर राख्ने काम गर्छ । हाम्रो शरीरमा बेटा सेलले काम नगरेको अवस्थामा इन्सुलिन उत्पादन हुँदैन ।
जतिबेला हामीलाई टाइप–१ मधुमेह हुन्छ । इन्सुलिन पनि उत्पादन भएको छ तर विभिन्न कारण शरीरमा राम्रोसँग काम गर्न सक्दैन भने त्यसलाई हामी टाइप–२ मधुमेह भन्छौँ । टाइप–१, टाइप–२ र प्यांक्रियाजको आफ्नै रोगहरू छ भने त्यसलाई प्यांक्रियाटिभ डाइबिटिज भन्छौँ ।
कहिलेकाहीँ महिलाहरूमा गर्भावस्थाको २६ देखि २८ हप्तामा सुगर लेबल बढ्ने गर्दछ । यसलाई हामी जेस्टेसनल डाइबिटिज भन्ने गर्छौं । अन्य विभिन्न किसिमका डाइबिटिजहरू पनि छन् । नेपालमा मधुमेहको अवस्था नेपालमा करिब चार प्रतिशत मानिसमा मधुमेहको समस्या छ भन्ने गरिन्छ । तर यकिन तथ्यांक भने छैन ।
अहिलेको अवस्थालाई हेर्दा युवाहरूमा मधुमेहको समस्या अत्यधिक बढेको छ । विशेषगरी विदेश गएर फर्किएका युवाहरूमा यो समस्या बढेको देखिन्छ । खाडी मुलुक, मलेसिया लगायतका देशहरूबाट फर्किएका युवाहरूमा मधुमेहको समस्या अत्यधिक बढेको छ ।
मेरो विचारमा घर परिवारबाट टाढा रहँदा तनाव बढी हुने, काम धेरै हुने पर्याप्त मात्रामा सुत्न नपाइने लगायतका समस्याले गर्दा पनि उहाँहरूमा मधुमेहको समस्या बढी देखिएको हुनसक्छ । हामीले मधुमेहका बिरामीलाई खाना खाइसकेपछि हल्का हिँड्न सुझाव दिने गर्छौं । दिनमा ६ देखि ८ घण्टा राम्रोसँग निदाउनु पर्छ, सुत्नपर्छ ।सायद विदेशमा यस्तो समय नमिल्ने, खानेकुराहरू फास्टफुडहरू बढी भएर पनि विदेशबाट नेपाल आउनेहरूमा मधुमेहको समस्या बढी भएको होला ।
मधुमेहका लक्षण
१ प्यास बढी लाग्ने
२ पिसाब बढी हुने
३ भोक बढी लाग्ने
४ दुब्लाउने
५ आँखाको दृष्टिमा खराबी
६ घाउ निको नहुने
७ हातखुट्टा झमझम गर्ने
८ पिसाब फरेको ठाउँमा कमिला लाग्ने
मधुमेहबाट बच्ने उपाय
१ शरिरको तोैल सन्तुलित राख्ने
२ चिनीजन्य परिकार कम खाने
३ चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने
४ धेरै गुलिया फलफूल कम खाने
५ पेय पदार्थ नखाने
६ फ्राइ तथा पोलेका परिकार कम खाने
७ धुम्रपान–मद्यपान नगर्ने
८ नियमित व्यायाम गर्ने