मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेंगु संक्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ । हेटौंडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेंगु संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।
ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेंगु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ ।
मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।
हेटौंडा र मनहरिका विभिन्न वडामा डेंगुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईँले जानकारी दिए ।
डेंगुबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेंगुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईँले बताए । रासस