काठमाडौं । शहरी क्षेत्रमा महीको महत्व थाहा हुँदैन । दही–महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो पाइन्छ ।
बजारमा पाइने चीसो पेय पदार्थले मानव स्वास्थ्यलाई पाइदा पुर्याउँदैन भन्ने जान्दाजान्दै पनि मानिसहरु खान छाड्दैनन् । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।
तर बजारमा पाइने पेय पदार्थ भन्दा मही खानु निकै उत्तम हो । अझ गर्मीयाममा मही खानु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरू बताउँछन् । मही खानुका फाइदाहरू यस्ता छन्
-गर्मी याममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
-महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ। महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ।
-महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।
-भुटेको जिराको साथमा मही खाँदा पाचन प्रणाली ठीक राख्न मद्दत गर्छ।
-मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
-साँझबिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
-पटकपटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ।
-शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।
-महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ। गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।