काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने भएकी छिन् ।
ललितपुरको कुपण्डोलमा रहेको नेशलन आइ एण्ड कस्मेटिक सर्जरी सेन्टरमा उनले आफ्नो आँखाको सर्जरी गर्ने बताएकी छिन् । सर्जरी सेन्टरको सातौं वार्षिक उत्सवमा पुगेकी अभिनेत्री मानन्धरले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।
‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ । बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशलन आइ एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ ।’ उनले संस्थाको वार्षिकोत्सव समारोहको उद्घाटनपछि भनिन्, ‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरूलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरूले अझ सजिलो भएको पनि उनले बताईन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकोमा उनले खुशी समेत व्यक्त गरेकी छिन् ।
बिगत सात वर्षदेखि आँखासम्बन्धी सबै समस्या र आँखासहित अन्तर्राष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफूहरूले गर्दै आएको सो सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताइन् । आफूहरूले प्रदान गर्ने सेवाबारे उनले भनिन्, ‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरीपरीको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर–भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तलझरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं । यस्तै आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठुला भएकाहरूको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं ।’
सो क्रममा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आफूहरूले बिदेशमा दिने आँखाको कस्मेटिक सर्जरीसम्बन्धी सबै सेवा दिएकाले यो सेवाको लागि नेपालहरू विदेश जाने क्रम निकै कम भएको बताए । ‘बैंकक पुगेर यही सेवाको लागि जती खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौं । रमाईलो कुरा के भने, हाम्रै डक्टरहरूले बैंकक गएर यस्तो सर्जरी गर्ने भएकाले त्यो सुविधा निकै सस्तोमा यही गर्न पार्ईएको छ,’ उनले भने ।
कस्मेटिक सर्जरीसँगै आँखासम्बन्धी सबै प्रकारको समस्याको उपचार गर्ने भएकाले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर प्रति आँखाका यस्ता समस्या भएकाहरूको उपस्थिति राम्रो हुँदै आएको पनि कक्षपतिले बताए।