काठमाडौं । मुख तथा अनुहार शल्य चिकित्सा (ओरल तथा मैक्सिलोफेसियल सर्जरी )त्यस्तो विधा हो जसले कुनै पनि रोग या अनुहार, टाउको या घाँटीमा पर्ने समस्याको उपचार गर्छ । यसले त्यस्ता समस्या पत्ता लगाउने तथा उपचार गर्ने गर्छ । यस उपचार विधीले व्यक्तिको सौन्दर्य बढाउनुका साथै काम गर्न नसकेका अंगले काम गर्न सक्ने बनाउँछ ।
ओरल तथा मैक्सिलोफेसियल सर्जरी
यूरोप, अमेरिका तथा एसियामा यसको पढाइ भिन्न भिन्नै छ । मुख तथा अनुहार शल्य चिकित्सा (ओरल तथा मैक्सिलोफेसियल सर्जरी)भित्र अन्य थुप्रै विधाहरु रहेका छन् । दुर्घटनाका कारण अनुहारमा भएका विभिन्न प्रकारका हानीहरुलाई हटाइ पुर्ववत् अवस्थामा नै ल्याउनका लागि मुख तथा अनुहार शल्य चिकित्साको महत्वपूर्ण भूमिका रहन्छ ।
मुख, दाँत, अनुहार, टाउको तथा घाँटीमा हुने विभिन्न प्रकारको समस्याको शल्यक्रियाद्वारा उपचार गर्ने विधा मुख तथा अनुहार शल्य चिकित्सा हो । यी अंगहरुमा हुने विभिन्न प्रकारका इन्फेक्सनको उपचार समेत यस विधाले गर्छ । यस्ता अंगहरुमा हुने इन्फेक्सन शरीरका विभिन्न अंगहरुमा समेत भई रगतमा फैलिएको अवस्थामा यसै कारणबाट बिरामीको मृत्युसमेत हुनसक्छ ।
नेपालमा जनचेतनाको अभावका कारण मुख तथा अनुहार शल्य चिकित्सकलाई खोजेर उपचारका लागि आउने मानिसहरुको संख्या एकदमै न्यून रहेको छ । तर यस्ता सर्जरी गराउने बिरामीहरूको संख्या भने उच्च छ । उपचारका लागि अन्य विभागमा बिरामीहरु जाने भएकोले बिरामी चिकित्सक कहाँ आइपुग्दा ढिलो भइसकेको हुन्छ । अस्पतालहरुमा डिपार्टमेन्टको कमी वा डिपार्टमेन्टको कम बुझाइका कारण बिरामीहरूले राम्रो उपचार पाइराखेका छैनन्। यदि अस्पताल प्रशासनले वास्तवमै बुझ्छ भने, यो एकदम आकर्षक विभाग हो।
उपचारका क्रमका प्रयोग हुने विधी तथा प्रक्रियाका आधारमा यो उपचार महँगो या सस्तो दुवै किसिमको रहेको छ । कुनै पनि मानिसको अनुहारलाई राम्रो बनाउने सर्जरी जस्तै नाक, आँखा वरपरको परेला बनाउने ,अनुहारको हड्डी मोटो तथा पातलो बनाउने,कानको लोती सानो ठूलो बनाउने, डिम्पल बनाउने तथा अनुहारको छालाको संरचना राम्रो बनाइदिने सर्जरी भने केही महँगो हुन्छन् ।
अनुहारमा नै भएका संरचनालाई केही फेरबदल गर्नका लागि कस्मेटिक सर्जरी गरिन्छ भने शरीरका अन्य भागबाट मासु ल्याएर कुनै अंगलाई राम्रो बनाइने सर्जरीलाई प्लास्टिक रिकस्ट्रक्टिभ सर्जरी भनिन्छ ।
मुख्य गर्ने उपचार
-अनुहारको जोर्नीको समस्या
-अनुहारको कस्मेटिक सर्जरी
-मुख तथा टाउको घाँटीको क्यान्सर
-मुख तथा अनुहार घाँटीको संक्रमण
-मुख तथा अनुहारको दुखाइ तथा नसा सम्बन्धी
-थुक ग्रन्थि सबन्धी समस्या
-मुख तथा अनुहार सम्बन्धी गाठा गुठी
-घुर्ने समस्या सबन्धी
-दन्त प्रत्यारोपण
-बुद्धि बंगारा सबन्धी उपचार
मानिसहरुमा ज्ञानको अभाव, उपचारमा जनशक्ति अभाव, उपयुक्त रेफरल सेन्टरको अभाव तथा प्राथमिकतामा नपरेका कारण धेरेै जस्तो अवस्थामा नेपालमा यस्ता समस्याहरुको उपचार नै हुने गरेको छैन । त्यसका साथै अस्पताल तथा उपकरणको अभाव पनि समस्याको रुपमा रहेको छ । मुख तथा अनुहार शल्य चिकित्साले मेडिकल तथा डेन्टल विधालाई मिलाउने पुलको काम गर्छ ।
कतिपय अवस्थामा दुर्घटना हुँदा यस विधाको ज्ञान अभावमा बिरामीहरुले उपचार अभावको समस्या समेत भोगिरहेका छन् ।