धनगढी । धनगढीमा १ वर्षभित्र मिर्गाैला प्रत्यारोपण सेवा सञ्चालनको तयारी गरिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ वर्षभित्र मिर्गाैला प्रत्यारोपणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र सो अस्पतालबीच सम्झौता भएको छ ।
धनगढीमा आयोजित 'मष्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्याराेपणसम्बन्धी अन्तर्क्रिया' कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले हस्ताक्षर गरे ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले नेपालमा मिर्गाैला दानमा लैंगिक शोषणको अवस्था रहेको चर्चा गरे । उनले भने, 'नेपालमा अहिलेसम्म भएका प्रत्यारोपणका क्रममा महिलाले गरेको मिर्गाैला दान ग्रहण गर्नेहरूमा ८० प्रतिशत पुरुष रहेको तथ्याङ्कले देखाएको छ । यो मिर्गाैला दानको सन्दर्भमा भएको एकतर्फी लैंगिक शोषण हो ।'
उनका अनुसार प्रचलित कानुनमा अंगदान वा मिर्गाैला दानमा कुनै समस्या छैन । तर, पुरुषले आफ्नै श्रीमती, छोरी वा आमालाई समेत मिर्गाैला दिन नमानेको तथ्यांकले देखाएको छ । उनले भने, 'महिलाले भने सजिलै श्रीमान्, छोरा, बुबा, दाजुभाइलाई मिर्गाैला दिएको देखिन्छ । एउटा मात्र मिर्गाैलाले पनि बाँच्न सकिन्छ भन्ने जानकारी भए पनि पुरुषहरूले मिर्गाैला दान गर्न हिच्किचाउने गरेको अवस्था छ ।'
डाक्टर श्रेष्ठले कसैको मृत्यु हुँदा मिर्गाैला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रासहित ८ वटा अंग काम लाग्ने भएकाले ती अंग दान गर्दा ठूलो पूण्य हुनेतर्फ संवेदनशील बन्न आग्रह गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले सेती प्रादेशिक अस्पतालमा अंगदान र प्रत्यारोपणको व्यवस्थाका लागि सरकारले विशेष योजनासहित बजेट उपलव्ध गराउने बताए ।
अन्तर्क्रियामा डाक्टर कल्पना श्रेष्ठ र डाक्टर आरती राईले मिर्गाैला रोग र यसको रोकथामका उपायका साथै राज्यले उपलब्ध गराउने सेवासुविधाबारे जानकारी गराएका थिए ।