काठमाडौं । कुनै कारणले अंगभंग हुँदा , उमेर बढ्दै जाँदा हाड खिइएर गएपछि जोर्नी प्रत्यारोपण गरिन्छ । हाड खिइएर बिग्रिएको भाग तासेर कृत्रिम जोर्नी राखेर गरिने उपचारलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ।
सुरुको अवस्थामा औषधिको सेवन तथा विभिन्न प्रकारका थेरापीहरुले जोर्नीको दुखाइलाई कम गर्ने प्रयास गरिन्छ, भने प्रत्यारोपण उपचारको अन्तिम विकल्प हो । उमेर ढल्कदैं जाँदा जोर्नीहरु खिइने र बिग्रने,चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्नीको उचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपणको आवश्यकता पर्छ ।
जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउँछ ?
जसरी उमेरसँगै हाम्रो कपाल फुल्छ त्यसैगरी हड्डीको गुणस्तरमा पनि कमी आउँदै जान्छ अर्थात् जोर्नी खिइँदै जान्छ। यो समस्या कसैमा बढी हुन्छ कसैमा कम । मोटो मानिस छ, कुनै शारीरिक व्याायाम गर्दैन भने त्यस्ता व्यक्तिको हड्डी खिइने क्रम बढी हुन्छ ।
साथै घुँडाको हड्डीमा शरीरको सम्पूर्ण भार पर्ने भएकाले पनि मोटो मानिस छ भने अझ बढी खिइने गरेको पाइन्छ । यसैगरी घुँडा खिइँदै गएर यतिसम्म हुन्छ की दुई हड्डीहरु एक आपसमा घोटिएर हिड्दा चल्दा दुख्न थाल्छ । यो धेरै नै खिइयो भने यतिकै बस्दा पनि दुख्न थाल्छ । हिंडडुलमै समस्या हुन्छ । यसैगरी पलेँटी मारेर बस्ने, उकालो ओरालो धेरै गर्ने, गहौं भारी बढी बोक्ने, अस्वस्थ जीवनयापन गर्नेहरूमा पनि यो समस्या बढी हुने गर्छ ।
कसरी गरिन्छ जोर्नी प्रत्यारोपण ?
जोर्नी प्रत्यारोपण सामान्य शल्यक्रियाद्वारा गरिन्छ । जोर्नी प्रत्यारोपण गर्नुपर्ने अंगमा अगाडिको भागबाट काटेर खिइएको जोर्नीलाई हटाइने गरिन्छ । योसँगै कृत्रिम जोर्नीलाई आवश्यक आकारमा मिलाएर राख्ने गरिन्छ । टिबिया अर्थात् खुट्टाको हड्डी र फ्युमर (थाईको हड्डी)मा इम्प्लान्ट अर्थात् कृत्रिम जोर्नी फिट गरिन्छ ।
जोर्नी किन बिग्रन्छ ?
हाम्रो शरीरका जोर्नीहरु विविध कारणले बिग्रन सक्छन । धेरैजसो आफनौ उमेरका कारण, कहिले बाहिरी रुपमा लाग्ने चोटपटकका कारण त कहिलेकाहीं संक्रमणका कारण जोर्नी बिग्रन सक्छ । जोर्नी बिग्रिसकेपछि शरीरमा अनेकौं लक्षण देखिन थाल्छन जसले जीवन असहज बन्न पुग्छ ।
त्यसैले यसलाई उपचार र सर्जरी गरेर मिलाउनु अथवा शरीरमा भएको बिग्रिएको जोर्नीलाई निकालेर कृतिम जोर्नी राख्नुपर्ने हुन्छ । नेपालमा धेरै जसो हिप र घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ । यी दुईमा पनि घुँडाको समस्या बढी छ ।
जोर्नी बिग्रने समस्या किन आउँछ ?
पछिल्लो समय हड्डी छिट्टै बिग्रिने समस्या बढेको छ। त्यसमा पनि विशेष गरी ओस्ट्रियोपोरोसिस(हड्डी मक्किने समस्या) बढी देखिन्छ। हाम्रो खाद्य पदार्थ ताजा छैन, हामी व्यायाम पनि खास गर्दैनौं, शारीरिक गतिविधि छैन। हड्डी बलियो बनाउन सबै खालका खानेकुरा र भिटामिन डीको आवश्यक पर्छ।
स्वच्छ तथा खनिज पदार्थयुक्त खाना, फलफूल, हरियो सागपात खानुका साथै व्यायाम गर्नुपर्छ। व्यायाम हुनु भनेको शरीरमा रक्तसञ्चार पुग्नु हो। रक्तसञ्चार हुनु भनेको शरीरका सबै भागमा अक्सिजन पुग्नु हो। अक्सिजन पुगेका भाग बलिया हुन्छन्।
जोर्नी प्रत्यारोपणका लागि कति खर्च लाग्छ ?
– कृत्रिम जोर्नी महँगो हुने भएकाले जोर्नी प्रत्यारोपण केही खर्चिलो उपचार हुन्छ।
– हिप तथा घुँडामा राखिने सामानहरुको मात्रै दुई लाख रुपैयाँसम्म पर्छ।
– रिभिजन सर्जरी गर्दा झनै महँगो पर्न जान्छ।
(प्रा.डा कर्णसँग महिला स्वास्थ्यका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित् )