काठमाडौं । सरकारी स्वामित्वको एक मात्र आयुर्वेदिक औषधि उत्पादक ‘सिंहदरबार वैद्यखाना’ बेथितिको चाङमा फसेको छ ।
यस आर्थिक वर्षदेखि औषधि उत्पादन हुन सकेको छैन भने वैद्यखानाको नेतृत्व विवाद सर्वोच्च पुगेको छ । कर्मचारीहरुको पदस्थापनमा विवाद आउँदा कुनै कार्य हुन सकेको छैन । कच्चा पदार्थको अभावमा औषधि उत्पादन रोकिएको कर्मचारी बताउँछन् । वैद्यखाना विकास समितिका ४२ जना, सरकारी दरबन्दीअन्तर्गतका दुईजना र अन्य एकजना गरी हाल ४५ जना कर्मचारी कार्यरत रहे पनि त्यहाँ कर्मचारीहरुबीच आपसी विवाद छ ।
उनीहरुको काम हाजिरी गरेर घर फर्किने मात्र छ । उत्पादन शाखामा रहेका २२ कर्मचारी डेढ महिनादेखि फुर्सदिला छन् ।
उत्पादन शाखामा कार्यरत एक कर्मचारी भन्छन्, ‘औषधि बनाउन कच्चा पदार्थ नै छैन । हाजिरी गरेर दिनभरि गफ गरेर बस्नेबाहेक काम छैन । दिनभरि वैद्यखानामा भइरहेको बेथितिबारे कुरा गर्ने, एकले अर्कोलाई दोष लाउने गरेर दिन बित्छ ।’
एक सय ५० प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको वैद्यखाना डेढ महिनायता निमित्त कार्यकारी निर्देशकको नियुक्तिको विवादमा अल्झिएको छ ।
वर्षौँदेखि कर्मचारीको आपसी विवादका कारण खस्किँदै गएको वैद्यखानामा यो वर्ष उत्पादन शून्यमा झरेको हो । गत आर्थिक वर्षसम्म ११ वटा औषधि उत्पादन भइरहेको वैद्यखानामा गत असारमा निमित्त कार्यकारीको पदस्थानको विषयमा विवाद चुलिएयता वैद्यखानाको उत्पादन पनि रोकिएको हो ।
सिंहदरबार वैद्यखानाको निर्देशक नियुक्तिका विषयमा सर्वोच्चमा चार निवेदन परेका छन् । वैद्यखानाका निमित्त कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रीस्तरीय निर्णयपछि आरोप–प्रत्यारोपमा मुद्दा दायर भइरहेका छन् ।
यो विवादलाई पहिलोपटक डा. सबरी साहले सर्वोच्च पु¥याएका थिए । गत असारमा मन्त्रीस्तरको निर्णयले डा. साहलाई हटाएर दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेदविज्ञ डा. श्यामबाबु यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि साहले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
यादवलाई तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट सिंहदरबार वैद्यखानामा काजमा खटाएका थिए । आफूलाई हटाउनु कानुनविपरीत रहेको भन्दै उनी १९ असारमा उत्प्रेषणको रिट लिएर पुगे । जसमाथि सर्वोच्चले १० असारको निर्णय खारेज हुने गरी अन्तरिम आदेश दियो । उक्त आदेश कार्यान्वयन नभएको भन्दै साहले फेरि निवेदन हाले ।
जसमा विपक्षीसँग सर्वोच्चले जवाफ माग्यो । यो विवाद चल्दै गर्दा फेरि १ साउनमा आफूलाई निमित्त निर्देशक दाबी गर्दै साहलाई प्रतिवादी बनाई डा. यादव सर्वोच्च पुगे । सिंहदरबार वैद्यखाना विकास समितिले पनि ५ साउनमा डा. साहलाई विपक्षी बनाउँदै अर्को रिट दायर ग¥यो ।
अर्को रिट भने १३ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुमा कामकाज गर्न पठाइएका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेदविज्ञ (दसौँ तहका) डा. सबरी साह’लाई विपक्षी बनाई दायर गरेकी थिइन् ।
सिंहदरबार वैद्यखाना सञ्चालक समितिले डा. यादवलाई वैद्यखानाका निमित्त कार्यकारी निर्देशकका लागि सिफारिस गरेपछि १५ असारमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डा. यादवलाई सिंहदरबार वैद्यखानाका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका थिए ।
तर, डा. साहले भने आफूलाई वैद्यखानाबाट हटाउन नपाउने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि अदालतले २१ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० असारको निर्णय तथा सोसम्बन्धी पत्राचार कार्यान्वयन नगर्नु–नगराउनु, यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी ग¥यो । तर, १५ असारमा डा. यादवलाई दिइएको निर्देशकको जिम्मेवारीको विषयमा सुनुवाइ गरिएको छैन । यो मुद्दाको सुनुवाइका लागि २६ भदौका लागि पेसी तोकिएको छ ।