पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो। विश्व कै तथ्यांक हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने क्यान्सरमध्ये चौथो नम्बरमा पर्छ । नेपालमा महिलाहरुमा हुने क्यान्सरको पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्छ।
पाठेघरको मुखको क्यान्सर भनेको एचपिबी भाइरसले गर्दा हुने रोग हो। यो भाइरस शरीरमा छिर्ने बितिकै क्यान्सर हुने भने होइन । यो भाइरस लामो समयसम्म शरीरमा बस्दा तथा शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएको अवस्थामा क्यान्सर हुने गर्छ । क्यान्सर भन्दा अगाडि प्रि क्यान्सर पिरियड हुन्छ । जुन ८/१० वर्षको पनि हुन्छ ।
विकसित मुलुकहरुमा क्यान्सर हुनु अगाडि नै अर्थात् प्रि क्यान्सर पिरियडमा नै उपचार हुने भएकोले क्यान्सर निको हुने दर राम्रो छ । सिंगापुर, थाइल्यान्ड लगायतका मुलुकमा प्रि क्यान्सर पिरियडमा नै उपचार हुने भएकोले यी देशहरुमा पाठेघरको मुखको क्यान्सर हुने दर न्यून छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न ९ देखी १३ वर्ष उमेरका बालिकालाई खोप लगाउन सकिन्छ ।
कस्ता महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुन्छ ।
-सानो उमेरमा विवाह गर्ने ।
-कलिलै उमेरमा यौन सम्पर्क गर्ने ।
-धेरै जनासँग यौन सम्पर्क राख्ने ।
-धेरै सन्तान जन्माउने ।
-खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला ।
-शरीरमा रोगसँग लड्न सक्ने क्षमता कम भएका महिला ।
-पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ ।
लक्षणहरु
-योनीबाट गन्हाउने फोहर पानी बग्नु ।
-यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि रगत देखिनु ।
-महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु ।
-तल्लो पेट बढी दुख्नु ।
-दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु ।
-वजन घट्दै जानु ।
-थकाई बढी लाग्ने ।
-महिनावारीको नभएको बेला पनि रगत बग्ने ।
पाठेघरको मुखको क्यान्सरका चरणहरु
पहिलो चरण : क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।
दोस्रो चरण : पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।
तेस्रो चरण : क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।
चौथो चरण : क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।
रोकथाम
-नियमित स्वास्थ्य परीक्षण गर्ने।
-तौल घटाउने।
-सन्तुलित आहारको सेवन गर्ने।
-एचपीभी खोप लगाउने ।
-प्रत्येक ३ /३ वर्षमा प्याप स्मियर टेष्ट गराउने
-कम चिल्लो र बढी रेसायुक्त खाना खाने।
-धुम्रपान नगर्ने।
-नियमित व्यायाम गर्ने।
-तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने
-स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने।
-अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्याउने।
-चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।