काठमाडौँ । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यो वर्ष पनि ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस– २०२२ मनाउन लागिएको छ।
कोभिड–१९ को महामारी, भुकम्प, शहर केन्द्रीत बसाईसराई, अमिल्दो सामाजिक र आर्थिक गतिविधि एवं बोझले आत्महत्याको संख्या दिन प्रतिदिन बढीरहेको डा बरालले जनाए। ‘बिगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २ सय ९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन्।
जस अनुसार आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जना, ०७३/०७४ मा ५ हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, र ०७८/०७९मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको तथ्यांक छ,’ उनले भने।
तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७८/७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.३५ प्रतिशतले घटेको देखिन्छ। तर त्यतीले मात्रै खुसी हुने अवस्था नभएको बराल बताउछन्।
उनी भन्छन्,‘नेपालमा अझै पनि हेरक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइन्छ। नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन। नेपालमा आत्महत्याको दर दिनानु दिन बढ्दो क्रममा रहेको तथ्याङ्कले गर्दा पनि यसको रोकथामकालागि अझ सुदृढ कदमहरु चाल्न अत्यावश्यक रहेको देखिन्छ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै जानु र मानसिक स्वास्थ्य प्राथमिकतामा पर्न नसक्नु बिडम्बना भएको बताए । उनले शारीरिक समस्यालाई जस्तै मानसिक समस्यालाई पनि समयमै पहिचान गरी आत्महत्या रोकथाममा सबैले काम गर्नुपर्ने बेला आएको जनाए ।
उनले १० वर्षमा ५३ हजारभन्दा बढी व्यक्तिले मानसिक रोगका कारण ज्यान गुमाउनु निकै दुखद भएको भन्दै उनीहरुलाई समयमै पराममर्श र उपचार गरेको भए बचाउन सकिने जिकीर गरे ।
यसैगरी कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले मानसिक स्वास्थ्यलाई अझै पनि लुकाउने प्रवृतिले आत्महत्या बढ्न पुगेको भन्दै यसलाई घटाउनका लागि शारीरिक स्वास्थ्य समस्याकाबारेमा कुरा गरे जसरी मानसिक समस्याकाबारेमा पनि खुलेर एक अर्कासँग कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले परिवारले पनि यस्ता समस्या भएका व्यक्तिलाई साथ र सहयोग गर्नुपर्ने जिकीर गरे ।