रौतहट । रौतहटको रंगपुर स्वास्थ्य चौकीमा प्रसूति गृह निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
रौतहटको गुजरा नगरपालिका–२ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ। नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ।
मातृत्व र प्रजनन् स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु राज्यको दायित्व पनि हो। तरपनि गाउँगाउँमा प्रसूति गृह नहुँदा महिलाहरूले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम सिर्जना भएको स्थानीयहरू बताउँछन्।
महिलाहरूलाई सहज र सुरक्षित सुत्केरी गराउने उद्देश्यले दातृ संस्थाको सहयोगमा निर्माण गरिएको प्रसूति गृह सञ्चालनमा नआउनुले स्थानीयवासीहरू ज्यानको जोखिम मोल्न बाध्य छन्। नेपाल सरकार र बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम ९सीडीपी० को तर्फबाट ३३ लाख ७७ हजार ६१६, गुजरा नगपालिकाको तर्फबाट ५ लाख ४ हजार २ सय र स्थानीयको २ लाख १४ हजार ८६४ गरी जम्मा ४० लाख ९६ हजार ६८० को लागतमा सो प्रसूति गृह निमार्ण भएको थियो।
एकतले तीन कोठे प्रसूति गृह २०७४ चैत्रमा निर्माण सुरु भइ २०७५ असोजमा निर्माण सम्पन्न भएको थियो। निमार्ण सम्पन्न भएको ४ वर्ष पुग्न लागिसक्दा पनि प्रसूति गृह सञ्चालन नहुँदा त्यहाँ महिलाहरू सुत्केरी गराउन जोखिम मोलेर चन्द्रपुर, वीरगञ्ज, भरतपुर जानुपर्ने बाध्यता छ।
अनमी राधाकुमारी भट्टराईले निर्माण भइसक्दा समेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो गरिन्। उनले प्रसूति गृह सञ्चालनमा आए महिलाहरूलाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताइन्। उनले अहिले प्रसूति गृह सञ्चालन नभएका कारण गर्भवतीको अवस्था हेरेर अन्यत्र पठाउने गरेको जानकारी दिइन्।
राम्रो प्रसूति गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउन बाध्य स्थानीयहरू आफ्नै गाउँमा प्रसूति गृह बनेसँगै सो समस्याबाट मुक्ती पाउने आशामा थिए। प्रसूति गृहको स्थापनासँगै महंगो खर्च गरेर अन्य सहरका अस्पतालमा जानुपर्ने झन्झट र दुःखबाट छुट्करा पाउने भन्दै दंग बनेका स्थानीय यतिखेर निराश छन्।
जतिसक्दो चाँडो प्रसूति गृह सञ्चालन हुनुपर्ने उनीहरूको माग छ। स्थानीय प्रशासनले चासो नदिँदा समस्या समाधान हुन नसकेको स्थानीय रुद्रकुमराी ढंगाना बताउँछिछन्।
स्थानीय सरकारले चासो दिएर काम गर्ने हो भने सुत्केरी गराउन चितवन पुग्नुपर्ने बाध्यताको समाधान हुने र गाउँमा नै सहज तरिकाले महिलाले सेवा पाउने स्थानीय सुकामान मोक्तानले बताइन्।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार प्रसूति गृह सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ। तर, निर्माण सम्पन्न भएको ४ वर्षसम्म प्रसूति गृहमा कम्पाउण्ड वाल, स्वास्थ्यकर्मी बस्ने क्वार्टर लगायतका सुविधा नहुँदा सूचीकृतमा समस्या छ।
प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूले चौबिसै घण्टा सेवा प्रदान गरिरहनुपर्ने र सो अनुसारको थप संरचना र सुविधा नभएकाले सूचीकृत हुन समस्या भएको जनस्वास्थ्य निरीक्षक भुपेन्द्र चौधरीले बताए।
गुजरा नगरपालिकी उपप्रमुख रत्ना लामाले नगरपालिकाले केन्द्र सरकारसँग प्रसूति गृह सञ्चालनका लागि अवाश्यक बजेटको पहल गरिसकेकाले अब चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन्। उनले स्वास्थ्यचौकी व्यवस्थित नभएका कारण प्रसूति गृह सञ्चालनमा नल्याएको बताइन्।
प्रसूति गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रुपमा कमजोर समुदायका महिलाहरूलाई परेको छ। टाढाको अस्पतालमा लैजाने एम्बुलेन्स खर्च, औषधि उपचार तथा खर्च व्यहोर्न ऋण खोज्नुपर्ने उनीहरूको बाध्यता छ।