काठमाडौं । वीर अस्पतालको फार्मेसी बन्द भएको छ । अस्पतालको नयाँ सर्जिकल भवनमा रहेको उक्त फार्मेसी दुई महिनाअघि देखि बन्द छ। उक्त फार्मेसी वीरले पाँच महिनाअघि सञ्चालनमा ल्याएको थियो । अस्पतालकै फार्मेसी बन्द भएपछि बिरामीहरू औषधि किन्न अस्पतालबाहिर जानुपर्ने भएको छ।
वीरमा हाल बन्द अवस्थामा रहेकोसहित गरी चारवटा फार्मेसी छन्। अस्पतालको पुरानो भवनमा क्यान्सरसम्बन्धी औषधिको फार्मेसी, मुख्य भवनमा दुईवटा र नयाँ भवनमा सबैखाले औषधि पाइने एउटा फार्मेसी थियो । नयाँ भवनको फार्मेसी भने बन्द भएको हो।
वीर अस्पताल प्रशासनका अनुसार अस्पतालका फार्मेसीमा करिब दुई हजार प्रकारका औषधि पाइन्छ । ती फार्मेसीले निजीले भन्दा सहुलियतमा समेत औषधि उपलब्ध गराउँछन्।
अस्पतालभित्रको फार्मेसीमा २ देखि ८ प्रतिशतसम्म छुट दिइन्छ । तर, २७ असारदेखि फार्मेसी बन्द हुँदा सेवाग्राही अस्पतालबाहिरका फार्मेसीमा जान थालेका छन्।
सर्जिकल भवनको भुइँतलामा हाल बन्द अवस्थामा रहेको फार्मेसीमा सर्जिकलसम्बन्धी सबैभन्दा बढी औषधि पाइन्छ । तर, उक्त फार्मेसी बन्द हुँदा औषधि किन्न अस्पतालबाहिरको फार्मेसीमा धाउनुपरेको बिरामीको गुनासो छ।
अस्पतालभित्रैका अन्य फार्मेसीमा पनि सबैखाले औषधि पाइँदैन । सेवाग्राहीको संख्या धेरै र फार्मेसी कम हुँदा भिड हुन्छ । जसका कारण औषधि किन्न घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ ।
अस्पताल प्रशासनले भने हाल बन्द अवस्थामा रहेको फार्मेसी एक साताभित्रै सञ्चालनमा आउने जनाएको छ । अस्पतालले फार्मेसीका लागि नयाँ कर्मचारी राख्न २५ भदौमा लिखित परीक्षासमेत गराएको छ।
अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले एक साताभित्र कर्मचारी राखेर बन्द अवस्थामा रहेको फार्मेसी सञ्चालनमा ल्याउने बताए । उनका अनुसार फार्मेसीमा नयाँ कर्मचारीका लागि एक सय ७३ जनाले लिखित जाँच दिएका छन् । यसमध्येबाट १० जना कर्मचारी छनोट गरिनेछ।
अस्पतालका फार्मेसी विभाग प्रमुख श्यामु मण्डलले कर्मचारी नभएका कारण अस्पतालभित्रको फार्मेसी बन्द गर्नुपरेको जानकारी दिए । उनका अनुसार दुई महिनाअघि फार्मेसीमा काम गर्ने पाँचजना करारका कर्मचारीले जागिर छाडेका थिए।
उनका अनुसार हाल बन्द अवस्थामा रहेको फार्मेसीका लागि पाँचजना स्टाफ चाहिन्छ । अस्पतालका अन्य तीनवटा फार्मेसीमा १३ जना कर्मचारी छन् । तर, यी कर्मचारी पनि कम भएको भन्दै वीरले १० जना कर्मचारी थप गर्न लागेको हो।