काठमाडौं । जेलमा रहेका कैदी तथा थुनुवाको पनि स्वास्थ्य बिमा हुने भएको छ ।
नेपालको संविधानको धारा ५१ बमोजिम नागरिकको स्वास्थ्य उपचारमा पहुँच हुने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य बिमा बोर्डले कैदी तथा थुनुवालाई पनि स्वास्थ्य बिमाको दायरामा समेट्ने तयारी गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यसका लागि बोर्डले ‘कैदी तथा थुनुवालाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने कार्यविधि २०७९’ तयार पारेको छ ।
बिमा ऐन, २०७४ अनुसार वृद्धाश्रम, अनाथालय, बालसुधारगृहलगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्नुपर्ने प्रावधान छ ।
सोही व्यवस्थाअनुसार कारागारमा रहेका कैदी तथा थुनुवाहरूको समेत स्वास्थ्य बिमा गर्न ऐनमा भएको अधिकार प्रयोग गर्दै बोर्डले कार्यविधि तयार पारेको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बस्यौलाले बताए । बोर्डले कार्यविधि पारित गरी कारागार व्यवस्थापन विभागमा पठाएको छ ।
कारागार व्यवस्थापन विभाग र स्वास्थ्य बिमा बोर्डबीच कैदी र थुनुवाहरूको स्वास्थ्य बिमा गर्ने सम्झौता हुनेछ । सम्झौताबमोजिम बिमा प्रक्रिया अगाडि बढाइने बोर्डका प्रमुख बस्यौलाले बताए ।
स्वास्थ्य बिमा बोर्डले कम्तीमा एक वर्ष बाँकी रहेका कैदी वा थुनुवालाई मात्रै स्वास्थ्य बिमामा समेट्न सकिने बताएको छ । बिमाको अवधिमा एक वर्ष हुने भएकाले बिमा गरिने कैदी वा थुनुवाको जेल अवधि कम्तीमा पनि एक वर्ष हुनुपर्नेछ ।