म्याग्दी- म्याग्दीका स्थानीय तहहरुले कोरोना अस्पताल पुनःसञ्चालन गर्न थालेका छन्। गत कात्तिकमङ्सिर महिनामा स्थानीय तहहरुले स्थापना गरेको आइसोलेशन र कोरोना अस्पताल कोरोना सङ्क्रमित नभएका र नियुक्त गरिएका स्वास्थ्यकर्मीको करार म्याद सकिएपछि बन्द भएका थिए।
दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरेर पुनः सञ्चालन गर्न थालेका हुन्। बेनी नगरपालिकाले बेनी अस्पताल परिसरमा निर्माणाधीन भवनमा २० शय्या क्षमताको आइसोलेशन निर्माण गरिरहेको छ।
यसअघि शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेशनका सामग्रीको प्रयोग गरेर अस्पताल परिसरमा केही दिनमै आइसोलेशन सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। नगरपालिकाले बेनीको हिलसाइडस्थित माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेशन सञ्चालन गरेको छ। धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाले यसअघि स्थापना गरिएको पाँच÷पाँच शय्या क्षमताको कोरोना अस्पताललाई नै निरन्तरता दिएका छन्। धवलागिरिको ताकममा कोरोना अस्पताल र घट्टेखोलामा आइसोलेशन तयार छ । धवलागिरिले कोरोना अस्पतालका लागि नियुक्त गरेका चिकित्सक र नर्सको सेवा करार थपेर राखेको थियो।
मङ्गला गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोकाले अर्मन स्वास्थ्यचौकीमा स्थापना गरिएको पाँच शय्या क्षमताको कोरोना अस्पताल सङ्क्रमित देखिन थालेपछि पुनः सञ्चालन गरिएको बताए। मङ्गलाको कोरोना अस्पतालमा हाल एक सङ्क्रमितलाई राखेर उपचार गरिएको छ। रघुगङ्गा गाउँपालिकाले पिप्लेमा स्थापना गरेको कोरोना अस्पताललाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा गत कात्तिकमा स्थापना गरेको कोरोना अस्पताल र आइसोलेशन तीन महिनापछि हटाएको थियो।
मालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले छ्यारछ्यारेको सभाहलमा २० शय्या क्षमताको आइसोलेशन निर्माण गरिएको जानकारी दिए। दरवाङ प्राथमिक केन्द्रका चिकित्सक र पूर्वाधारको प्रयोग गरेर कोरोना सङ्क्रमितको उपचार गरिने उनले बताए। । अन्नपूर्ण गाउँपालिकाले नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेर छाडेको भवनमा स्थापना गरेको कोरोना अस्पताल पुनःसञ्चालन गरेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले २० शय्याको आइसोलेशन बनाइएको बताए।
तत्काल मौजुदा स्वास्थ्यकर्मीबाट सञ्चालन गरिने कोरोना अस्पतालका लागि चिकित्सक र नर्स नियुक्त गर्न लागिएको उनले बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजनाअनुसार पालिकास्तरमा स्थापना भएको कोरोना अस्पतालमा औषधि, अक्सिजन सिलिण्डर, शय्या विस्तारलगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको छ। प्रत्येक पालिकालाई तीन महिनाका लागि एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्त गर्न मन्त्रालयले बजेट पठाएको थियो। कोरोना अस्पताल स्थापना र सञ्चालन गर्न मन्त्रालयले म्याग्दीका पाँचवटा स्थानीय तहलाई रु १०१० लाख पठाएको थियो।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १६० छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले करिब १५ दिनको अवधिमा करिब २०० सङ्क्रमित भएको बताए । ‘जनस्वास्थ्य मापदण्ड पालना नगरी भएका भोजभतेर, मेलाजात्रा, पूजापाठ र घुमघामका कारण कोरोना सङ्क्रमण फैलिएको हो, ' उनले भने। हालसम्म जिल्लाभर ४७५ सङ्क्रमित भएका छन्। सात जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । यसअघि सदरमुकाम बेनी बजारका सङ्क्रमित धेरै भएकामा अहिले ग्रामीण क्षेत्रका सङ्क्रमित बढी छन्।
सिङ्गा, तातोपानी, दरवाङ, बाबियाचौर, कुहुँ, अर्मन, ताकम, लुलाङ, पिप्ले, भगवती, पोखरेबगर, घोडेपानी, भुरुङ-तातोपानीलगायत ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ। कोरोना सङ्क्रमण फैलिएसँगै बेनी नगरपालिका क्षेत्रमा बिहीबारदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा भएको छ।
धवलागिरि-७ लाई वैशाख मसान्तसम्म सिल गरिएको छ। धवलागिरि-६ मराङलाई पनि शनिबारदेखि सिल गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए। धवलागिरि गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा पनि अनिश्चितकालका लागि बन्द भएको छ। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।
रासस