मोरङ । राजीव साह भर्खर १५ वर्षमा हिँड्दैछन्। तर, उनको काँधले भने तीन दशक पार गरेको जवान छोराझैँ पारिवारिक जिम्मेवारी थामेको छ।
घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ।
विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ।
बेलबारी- ९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन। उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे। केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ।
बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन्।डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उनी बताउँछन्।
सफारी कुदाएर दैनिक चार-पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनी गुनासो गर्छन्।सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ।
दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन्।‘कति सानो बाबुले चलाएको’जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्छन्’, उनी बताउँछन्।
स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसँग आग्रह गरे।