काठमाडौं । असारदेखि फैलन सुरु गरेको डेंगुले नेपालमा महामारीको रूप लिन थालेको छ । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा अहिले ९० प्रतिशत बिरामी डेंगुका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो वर्ष हालसम्म डेंगुका कारण २० जनाको मृत्यु भइसकेको छ ।
देशभर डेंगु संक्रमितको संख्या १६ हजार ५ सय ८७ पुगेको छ । मन्त्रालयका अनुसार जिल्लागत रूपमा सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । ललितपुरमा संक्रमितको संख्या ४ हजार ६ सय ७ पुगेको छ ।नेपालमा पहिलोपटक ०६१ सालमा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सात वटै प्रदेशमा डेंगु संक्रमण फैलिएको छ । डेंगु जाँचको लागि पनि स्वास्थ्य संस्थाले मनमरी मूल्य असुल्दै आएका छन् ।
मन्त्रालयका अनुसार हाल १० जिल्लामा डेंगु संक्रमण बढी देखिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, चितवन, मकवानपुर, दाङ, रूपन्देही र तेह्रथुममा डेंगुका धेरै बिरामी देखिएका छन् । डेंगु संक्रमणले महामारीको रूप लिइसके पनि सरकार लामखुट्टे खोज र नष्ट गर अभियानमा मात्रै अल्झिएको देखिन्छ ।
सन् २०१९ झन्डै १८ हजार मानिसमा डेंगु संक्रमण भएको थियो भने त्यतिबेला ६ जनाको मृत्यु भएको थियो । डेंगुले देशव्यापी महामारीको रूप लिइरहँदा विज्ञहरूले नियन्त्रणका लागि सरकारको तयारी फितलो भएको बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी डेंगु नियन्त्रणमा सरकार संवेदनशील नभएको बताउँछन् । उनी भन्छन्, ‘सरकारले झारा टार्ने हिसाबले हरेक वर्ष डेंगु नियन्त्रणका लागि बजेट छुट्याउँछ तर, संक्रमण नियन्त्रणबाहिर जान्छ । यो वर्ष त नियन्त्रणका लागि प्रभावकारी प्रयास नै देखिएन ।’
उनले स्थानीयतहलाई डेंगु नियन्त्रणका लागि जबाफदेही बनाउनुपर्ने बताए । डा. मरासिनीकाअनुसार डेंगु नियन्त्रणका लागि मुख्य काम भनेको खोज र नष्ट अभियान नै हो ।
उनले अबका केही दिनमा तराईका जिल्लामा भयावह अवस्था सिर्जना हुन सक्ने बताए । नेपालमा सन् २००४ देखि सुरु भएको डेंगु त्यसयता हरेक वर्ष फैलिँदै आएको छ । सन् २०१९ मा पनि प्रकोपकै रूपमा देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सरकारले डेंगु फैलन नदिन प्रयास गरिरहेको बताए । उनकाअनुसार तीन वटै तहका सरकारसँग समन्वय गरेर, समुदाय स्तरमा डेंगु सार्ने लामखुट्टे खोज र नष्ट गर भन्ने अभियान तीव्र गतिमा अगाडि बढाइएको छ । उनले भने, ‘डेंगु सार्ने लामखुट्टेले घरभित्रै बच्चा पार्ने गर्छ । त्यसैले आफ्नो घरभित्र र बाहिर सफा राख्ने, पानी जम्न नदिने गरौँ । विज्ञहरूबाट बुझ्दा अहिले औषधि छर्केर हुँदैन । सरसफाई नै मुख्यकार्य हो ।’
कुन प्रदेशमा कतिमा संक्रमण ?
बागमती – १२ हजार ४ सय १
लुम्बिनी – २ हजार ४ सय २२
प्रदेश–१ – ५ सय ४
सुदूरपश्चिम – ४ सय ९३
गण्डकी – ३ सय २२
मधेस प्रदेश – २ सय ८२
कर्णाली – २ सय ३
डा. ठाकुरले हप्तामा एकदिन कम्तीमा १० मिनेट छुट्याएर सरसफाई गर्ने र लामखुट्टे खोजी नष्ट गर्ने अभियानलाई सरकारले स्थानीयस्तरमै लैजान परिपत्र गरिसकेको बताए ।
डा. ठाकुरले अस्पतालमा उपचार गर्ने चिकित्सकको अभाव नभएको र उपचार विधि संयमताका साथ भइरहेको बताए । डेंगु जाँच गरेको रकम जथाभावी लिने गरेको प्रसंगमा उनले भने, ‘यो गुनासो सम्बोधन गर्न दुई÷तीन दिनभित्रै न्यूनतम समान मूल्य तोक्ने तयारी भइरहेको छ ।’ उनले सरकारले पूर्वतयारी र उपचार प्रक्रियालाई सँगसँगै लगिरहेको बताए ।
डेंगु कसरी फैलिन्छ ?
सेतोकालो ‘जेब्रा लामखुट्टे’ ले डेंगु फैलाउने गर्छ । संकलित सफा पानीमा यो लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घरभित्र वा घर वरिपरि तथा आफ्नो कार्यथलो वरिपरि पानी संकलन गर्नु हुँदैन ।
प्लास्टिक, ड्रम, बाल्टिन, गाडीका फालिएका टायरहरू आदिमा लामो समयसम्म पानी संकलन हुने हुँदा लामखुट्टे त्यस्ता ठाउँहरूमा धेरै देखिन्छ ।
अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीर र जोर्नीमा अत्यधिक दुखाइ हुने, शरीरमा ससाना बिबिरा देखिनु (चिलाउनु), वाकवाक वा बान्ता हुनु डेंगुका मुख्य र सुरुआती लक्षणहरू हुन् । संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षणहरू देखिने गर्दछ ।
तर संक्रमितमध्ये ७५ प्रतिशतमा भने लक्षणहरू नदेखिन पनि सक्दछ । डेंगु सार्ने लामखुट्टेले डेंगुकै बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोक्यो भने फैलन्छ । चिकित्सकको परामर्शविना कुनै पनि औषधि प्रयोग गर्नु हुँदैन ।