काठमाडौं । गत नौ दिनदेखि धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएपनि थप उपचारका लागि काठमाडौँ ल्याउने सरकारी प्रयास असफल भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक जहाज मंगलबार धनगढी पुगेको भए पनि उनले काठमाडौँ जान अस्वीकार गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । चिकित्सा शिक्षाको सुधारको माग गर्दै बीसौँ पटक धनगढीको गीत सत्सङ्ग भवनमा अनशन बसेका डा केसीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागिसेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको हो ।
अस्पतालका फिजिसिएन डा शेरबहादुर कमरले डा केसीलाई श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने, तौल घटेको, थकान महसुस हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिए । जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा देखिएपछि अस्पतालले उनलाई विशिष्ट अस्पतालमा स्थानान्तरण गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, मानवअधिकार आयोगलगायतलाइ अस्पतालले सोमबार जानकारी गराको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन निषेध गर्नु भई स्वास्थ्य अवस्था जोखिममा पर्ने खतरा देखिएकाले विशिष्ट अस्पतालमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आजै अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । त्यस क्रममा मन्त्री बोहराले प्रदेश सरकारको क्षेत्राधिकार पर्ने माग सम्बोधन गर्न सरकार तयार रहेको बताए । यसैबीच डा केसी पक्ष र सरकारी प्रतिनिधि बीच काठमाडौमा भएको पहिलो चरणको बार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।
डा केसी यस जुम्लामा अनशन बसेको बेला स्वास्थ्य अवस्था जटिल हुँदा पनि थप उपचारकारका लागि काठमाडौं आउन अस्वीकार गरेका थिए । त्यस बेला सरकारले बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याइ थप उपचार गरेको थियो ।