कालिकोट जिल्लाको रास्कोट नगरपालिकाकी पानसरा कुमालले दाउरा लिन जङ्गल जाँदा लडेर भाँचिएको आफ्नो बायाँ खुट्टाको उपचार घरमै जडीबुटीबाट गरेको बताइन्।
गोली गाँठो नजिक भाँचिएको खुट्टामा उनले अल्लोको जराको लेदो, पैयाँको बोक्रा र बाँसको काप्री लगाएको बताइन्।
जाजरकोटको कुशे गाउँपालिका पैंकका विमल आरसीले पनि भलिबल खेल्दा मर्किएको खुट्टामा जडीबुटीको खोटी लगाएको बताए।
मर्किएको खुट्टामा उनले घर गाउँमा परम्परागत रूपमा चल्दै आएको चलन अनुसार सल्ली कुसुम, उत्तिसको बोक्रा, खरानी, नुन, कुरिलो, जाम्नाको बोक्रा, रातो माटोको खोटी बनाएर लगाएका थिए।
पानसरा र विमलजस्तै कैयौँ कर्णालीवासी सामान्य देखि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या पर्दा गाउँघरमै पाइने जडीबुटीको प्रयोगबाट हुने उपचारलाई पहिलो प्राथमिकता दिने गरेको बताउँछन्।
यस्तो घरेलु उपचार अभ्यासमा औषधीको प्रकार, मात्रा, मिश्रणको अनुपात, प्रयोग गर्ने तरिका, पथ परहेज, आवृत्ति लगायतका महत्वपूर्ण र जरूरी विशेषज्ञ ज्ञान आवश्यक पर्ने कुराहरू पनि घर-छरछिमेकका अग्रजको सुझाव वा अनुभवमा नै निर्भर हुने गरेको पाइन्छ।
शारीरिक समस्याको निदान र अपनाइने उपचार विधिको स्रोत पनि परम्परागत चलन नै हुने गर्छ।
प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा.शंकरप्रसाद रिजाल कर्णालीवासीले २०० भन्दा बढी प्रकारका जडीबुटीहरू औषधीको रूपमा प्रयोग गर्दै आइरहेको बताउँछन्।
तर डा. रिजाल विशेषज्ञको सल्लाहबिना त्यस्ता औषधी प्रयोग नगर्न सुझाव दिन्छन्।
परामर्श
त्यस्तै आधुनिक औषधी विज्ञान पढेकी हाल कर्णाली केयर अस्पतालमा कार्यरत डाक्टर अर्चना कार्की जडीबुटी वा अरू कुनै औषधी चिकित्सक र जडीबुटी विज्ञको सल्लाह र परामर्श बिना खान नहुने बताउँछिन्।
उनी भन्छिन्, "विशेषज्ञ डाक्टर र विज्ञ मान्छेको परामर्श विना देखे सुनेकै भरमा आफू खुसी औषधी खाँदा समस्या झन् बल्झिन सक्छ।"
सुनेकै भरमा औषधी प्रयोग गर्दा मिर्गौला, कलेजोजस्ता संवेदनशील अङ्गमा असर गर्ने र उस्तै परे ज्यानै समेत जान सक्ने खतरा रहने डा. कार्की औँल्याउँछिन्।
आयुर्वेद औषधी विज्ञ प्राध्यापक डाक्टर चन्द्रराज सापकोटा स्वास्थ्यमा समस्या आउन बित्तिकै अस्पताल जान नसक्ने कैयौँ बिरामीले घरमै जडीवुटीबाट उपचार गरिरहेको बताउँछन्।
सन् १९७८ मा विश्व स्वास्थ्य संगठनको अल्माआटा घोषणापत्रमा झण्डै ८० प्रतिशत नेपालीले स्थानीय स्तरमा उपलब्ध जडीबुटीबाटै उपचार गर्ने गरेको उल्लेख गरेको थियो भन्छन् डा. सापकोटा।
अहिले त्यो सङ्ख्या घटेपनि घरेलु उपचार गर्नेहरूको सङ्ख्या अझ पनि ठूलो रहेको उनको भनाइ छ।
उनी भन्छन्, ठाउँ अनुसार फरक-फरक जडीबुटीको प्रयोगबाट धेरै रोगको उपचारको पहिलो प्रयास गाउँ घरमै हुन्छ।
कस्ता कस्ता उपचार अभ्यास?
बालबालिकालाई सर्दी (रुघाखोकी) लाग्दा, ज्वरो आउँदा सतुवा खुवाउने, खोलाको हरियो ढुङ्गा घोटेर घाँटी र निधारमा लगाउँदै आएको जाजरकोटका रामबहादुर रावल बताउँछन्।
"बालबालिकालाई झाडापखाला भए दुधे लहरो खुवाउँदा तुरुन्तै रोकिन्छ", उनी भन्छन्, "घरेलु उपचारले सन्चो नभएपछि मात्रै अस्पताल जान्छौ। नत्र भने घरमै उपचार गर्छौँ।"
हातखुट्टा मर्किए, भाँचिए सल्ली कुसुम, उतिसको बोक्रा, खरानी, नुन, कुरिलो, पदमचाल्लो, पैयाँको बोक्रा, सेतो रयन ढुङ्गा, कालो गहुँतेको खोटी बनाएर लगाउने गरेको उनीहरू बताउँछन्।
ज्वरो आए चिराइतो, कटुकी, जन्डिस भए आकाशवेली, महिनावारीको बेला उच्च रक्तस्राव रोक्न अशोक, नाकबाट रगत बगे दुबोको रस, असुरो, लज्जावती झार, प्याउली फूल, जामुनाको रस प्रयोग गरिन्छ।
झाडापखाला रोक्न भकमिलो र दही मिसाएर खाने, दाँत आउने बेलामा बच्चालाई आउने ज्वरो सन्चो बनाउन हर्रो, आँपको कोया, गेरु लगायत खुवाउने गरिएको पनि उनीहरू बताउँछन्।
मानसिक समस्या भए जटामसी, रगत मासी (आउँ) परे बेल, रागन (युरिक एसिड) भए सिलाजित, आँकको दूध लगाउने र सिस्नाले कन्याउने पनि गरिन्छ।
स्वर सुके बोझो, अमिलाको पात खाने, आँखा पाके जौको पातको रस, चुत्राको बोक्राको खोटी बनाएर लगाउने, ऐयर र चुत्राको डुफाको रस लगाएर लुतो निको गरिन्छ।बिरामी पर्दा काली मर्चा, तितो कटुको, बायो जरी, गदाल्नु, पाँच औलेजस्ता विभिन्न जडीबुटी प्रयोग गदै आएको कालिकोटका ७१ वर्षीय नन्दाकृष्ण तिमिल्सेना बताउँछन्।
किन घरेलु उपचारमा भर?
कतिपय मान्छेहरू आर्थिक अभाव र स्वास्थ्य संस्थासम्मको पहुँच सहज नभएको जस्ता कारणले गर्दा बिरामी हुँदा चाहेर पनि अस्पताल जान नसक्ने भएकोले घरेलु उपचारमै जोड निर्भर हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
कालिकोटको सिपखाना स्वास्थ्य चौकीका अहेव हंसराज न्यौपाने भन्छन्, समस्या जटिल भयो भने मात्रै स्वास्थ्य संस्थामा आउँछन्। नत्र घरमै विभिन्न जडीबुटीबाट उपचार गरेर बस्छन्।
अनुमानकै भरमा उपचार गर्दा भाँचिएको हातखुट्टा छोटो हुने गरेको, दुखीरहनेजस्ता समस्या पनि आउने गरेको उनीहरूले बताए।
न्यौपानेका अनुसार उनी कार्यरत स्वास्थ्यचौकीमा हरेक महिना ८-१० जना जति मानिस घरेलु उपचार गरेर केही सीप नलागेपछि आउने गरेका छन्।
खासगरी हातखुट्टा भाँचिए जडीबुटी लगाउने र ठीक नभएपछि स्वास्थ्य चौकी आउनेहरू धेरै रहेको उनले बताए।
बिरामी पर्दा जडीबुटीको प्रयोग गर्ने चलन कर्णालीका गाउँघरमा वर्षौँदेखि चलिरहेको छ। अहिले सवैतिर अस्पताल खुले पनि यो चलन हटिनसकेको ७५ वर्षीय जयबहादुर रावल बताउँछन्।
उनी भन्छन्, पहिले गाउँमा न स्वास्थ्य चौकी थिए, न त डाक्टर नै। बिरामी पर्दा जडीबुटीबाटै उपचार गर्नुपर्थ्यो। अहिले पनि त्यो पुरानो चलन गाउँ घरमा छँदै छ। परम्परागत उपचार विधि जानेका मान्छेहरू गाउँमा एक-दुई जना मात्रै हुन्छन्।
उनीहरूले आफ्ना बाउ बाजेबाट परम्परागत उपचार विधि सम्बन्धी ज्ञान सीप सिकेका हुन्छन्।
तर यस सम्बन्धी दक्खल भएका व्यक्तिको मृत्युसँगै ज्ञान, सीप हराउँदै गएको गाउँलेहरूको भनाइ छ।
बिबिसी