एजेन्सी । चाया ले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो ।
चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरीका सेम्फू र घरेलु उपचार गरिरहेकै हुन्छ । तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ ।
प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ ।
कपालभरि सेता पाप्रा देखिनु, टाउको चिलाउनु, टाउको कन्याउँदा लुगाभरि सेतो फुस्रो पाप्रा झर्नु आदि यसका लक्षण हुन्। कपालभरि चाया हुँदा मान्छे फोहोरीसमेत देखिन्छ ।
उपचारः
- सर्वप्रथमतः छायाले हैरान लगाएको छ भने, चर्मरोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हो ।
- चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु हुन्छन् । तिनको उचित प्रयोगले चाया हराउन सक्छ ।
- कुनै सेम्फूमा जिंक पैरिथियोन, केटाकोनाजोल नामक फंगस नासक औषधि राखिएको हुन्छ भने कुनै सेम्फूमा पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ ।
चाया हराइसकेपछि प्रयोग गरिरहेको सेम्फू लगाउन छोड्दा फेरि आउने सम्भावना रहन्छ ।
- सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।