काठमाडौं । बाल क्यान्सरका बिरामीको आत्मबल बलियो बनाउन नेपाल क्यान्सर अस्पतालले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
क्यान्सरका बिरामीहरुलाई हौसला प्रदान गर्नका लागि प्रत्येक महिना उनीहरुकै लागि भनेर सभाईभर मिट अर्थात क्यान्सरबाट निको भएकाहरुबाट उपचार गराइरहेकाहरुलाई परामर्श दिने तथा आफना अनुभव सुनाउने मौका दिंदै आएको छ ।
यही क्रममा शुक्रबार नेपाल क्यान्सर सपोर्टस् ग्रुपले ३५ औं सुदिप्त बाल क्यान्सर सर्भाइभर मिटको आयोजना गरेको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथि बाल क्यान्सर बिजेता अस्मिता गुरुङ रहेकी थिईन्।
उनकी आमाले आफ्नी छोरीले समयमै उपचार पाएको र परिवार र साथीभाईको साथ र हौसलाका कारण क्यान्सर जित्न सफल भएको बताईन् ।नेपाल क्यान्सर अस्पतालकी डा अन्जली पन्डितले क्यान्सर पीडित बाल बालिकाहरुको उपचार गराइरहेकी छन् । नेपाल क्यान्सर अस्पतालले छिटै नै बोन म्यारो ट्रान्सफ्लान्ट समेत गर्ने डा. पन्डित बताउँछिन् ।
कार्यक्रममा सुदिप्त क्यान्सर सभाईभर मिटकी संयोजक एवम क्यान्सर बिरामीको हौसला बढाउने अभियानमा सक्रिय स्वरुपा श्रेष्ठले बिरामीलाई क्यान्सर भनेको अन्य रोग जस्तै हो र म यसलाई जित्न सक्छु भन्ने आत्मबल बलियो हुनुपर्नेमा जोड दिइन । क्यान्सर पीडित बालबालिकाको र्याम वर्क गरिने उनले बताईन् । यो रोगसँग डराउने धेरै भएको भन्दै डराउने भन्दा पनि उपचार गर्ने र आत्मबल दरो राख्न सके यसलाई सजिलै जित्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा क्यान्सर जितेकाहरुले उपचार गरिरहेका बिरामीलाई आफूले कसरी क्यान्सर रोग जित्न सफल भए भन्नेवारेमा अनुभव सुनाएका थिए ।
अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले समयमै पहिचान हुन सकेमा बाल क्यान्सर निको हुने दर अन्यबाट बढी भएको बताए । उनले नेपालमा धेरैजसो बालबालिका सिकिस्त अवस्थामा मात्रै अस्पताल आइपुग्ने बताए । जसले खर्च बढाउनुकासाथै निको हुने सम्भावना घटाउँछ ।बालबालिकामा हुने क्यान्सर समयमा पहिचान गर्न सके ८० प्रतिशतसम्म निको हुने बताए । यस्ता प्रकारका क्यान्सर सभाईभर मिट क्यान्सर पिडीत बालबालिकाका लागि हौसल बन्ने पनि उनले बताए ।
कार्यक्रममा नेपाल क्यान्सर सपोर्टस् ग्रुपका महासचिव गणेश भक्त श्रेष्ठले बाल क्यान्सरको क्षेत्रमा योगदान दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सुदिप्त क्यान्सर सभाईभर मिटलाई निरन्तरता दिइने वाचा गरेका थिए ।