काठमाडौं । साउन दोस्रो साता बढ्न थालेको डेङ्गु सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा भदौको दोस्रो सातादेखि भयावह बनेको छ ।
नेपालको सबैभन्दा बढी डेङ्गु सङ्क्रमित प्रदेशमध्ये सुदूरपश्चिम तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमको कैलाली देशको सबैभन्दा बढी डेङ्गुसङ्क्रमित रहेका १० जिल्लाभित्र परेको छ ।
इमिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा शुक्रबारसम्म डेङ्गुसङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ८८ पुगिसकेको छ । डेङ्गुको उच्च प्रकोप भएको प्रदेशमा वाग्मती पहिलो स्थानमा छ ।
वाग्मतीमा १७ हजार सात सय ३१ सङ्क्रमित पुगिसकेका छन् । दोस्रो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय २१ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या सात सय ७७ पुगेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम दुई सय ३० जना सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा साउनको दोस्रो सातादेखि डेङ्गु सङ्क्रमण बिस्तारै बढ्न थालेकामा भदौको तेस्रो सातादेखि एकाएक तीब्र बनेको छ । सुदूरपश्चिममा गत जुलाईमा १३ र अगस्तमा ५७ जनामा डेङ्गु पुष्टि भएकामा सेप्टेम्बर ९भदौ १६० देखि शुक्रबारसम्म छ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमणका कारण सुदूरपश्चिममा हालसम्म तीन जनाको मृत्यु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेङ्गुसङ्क्रमणबाट कैलालीमा दुई र अछाममा एक जनाले ज्यान गुमाइसकेका छन् ।
सबैभन्दा बढी डेङ्गु सङ्क्रमित रहेका दश जिल्लामध्ये कैलाली नवौं स्थानमा पुगेको छ । भने सुदूरपश्चिम प्रदेशको दार्चुला देशभरि ११ औं स्थानमा पुगेको छ ।
कैलालीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगिसकेको छ । दार्चुलामा यो सङ्ख्या एक सय ९६ पुगेको छ । कैलालीमा सेप्टेम्बर ९भदौ १६० देखि सङ्क्रमण एकाएक ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । गत जुलाईमा कैलालीमा तीन जनामा मात्र सङ्क्रमण पुष्टि भएकामा अगस्टमा यो सङ्ख्या १३ थियो । भने भदौ १६ यता दुई सय ७८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
कैलालीसहित सुदूरपश्चिम प्रदेशमा डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाइएको भए पनि सङ्क्रमण दर भने निरन्तर उकालो लागिरहेको छ । स्वास्थ्य अधिकारीहरू भने रोकथामका प्रयास प्रभावकारी नै रहेको बताउँछन् । स्वास्थ्य अधिकारीहरू पछिल्लो समय डेङ्गु सङ्क्रमणको रिपोर्टिङमा सुधार भएका कारण एकाएक सङ्ख्या बढेको देखिएको हो ।
‘गत साउन दोस्रो सातादेखि नै कैलालीमा डेङ्गु सङ्क्रमण तीब्र बनिसकेको थियो, रिपोर्टिङको सीमितताका कारण यथार्थ सङ्ख्या प्राप्त हुनसकेको थिएन,’ जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘खासगरी सरकारी अस्पताल र पालिकामा रहेको केही सरकारी स्वास्थ्य केन्द्र र चौकीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीको तथ्याङ्कमा आधार बनाइएकाले साउनदेखि भदौ दोस्रो सातासम्म डेङ्गुको पूर्ण विवरण आउन सकेको थिएन ।’
उनका अनुसार हाल निजी अस्पतालबाट समेत डेङ्गुको रिपोर्टिङ भइरहेकोले सङ्ख्या एकाएक बढेको देखिएको हो । हाल कैलालीको धनगढी उपमहानगरपालिकामा डेङ्गुको बढी प्रभाव देखिएको उनले बताए ।