काठमाडौं - त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा आवश्यक मात्रामा अक्सिजन आपुर्ति नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले बिज्ञप्ति जारी गर्दै, बिगत केहि दिन देखि अक्सिजन आपूर्तिमा निकै गम्भीर समस्या भएकाले नियमित अक्सिजन आपूर्ति सहज नभए सम्मको लागि सिमित शैंया मात्र संचालन गर्ने जनाएको छ । बिज्ञप्तिमा, थप बिरामीलाई अक्सिजनको अभावको कारणले नै भर्ना गरी उपचार गर्न असमर्थता रहेको उल्लेख गरिएको छ ।
अस्पताल प्रशासनका अनुसार, चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि अक्सिजन अभावका कारण कोभिडका बिरामीको उपचारमा कठिनाई भएको हो । संक्रमितको उपचारमा दैनिक १२० भन्दा बढि मात्रामा अक्सिजन आवश्यक भएपनि समयमा आपुर्ति नहुदा बिरामीको उपचारमा समस्या आइरहेको छ । अक्सिजन आपुर्तिमा समस्या कृत्रिम हो या अक्सिजनको नै अभाब भएको हो यसबारे छानबिन गरी सहज रुपमा अक्सिजन आपुर्ति गराउँन अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।
ब्लुक्रस अस्पतालकी प्रबन्धक बित्तिय तथा प्रशासनिक सति गौतम सिंह भन्छिन्, हाल अन्य बिरामी लिन सक्ने अवस्था छैन, अक्सिजन अभाबका कारण अस्पतालमा भर्ना भएका बिरामीको उपचार गर्न केहि दिन यता निकै कठिन भइरहेको छ । हामीले यस्तो अवस्थामा बिरामीलाई सेवा कसरी दिने ? मन्त्रालयले अक्सिजन अभाबलाई गम्भिरता पुर्वक लिई सहज रुपमा हरेक अस्पतालको आवश्यकता अनुरुप अक्सिजनको व्यवस्था गराउन उनले आग्रह गरेकी छन् ।
उनि भन्छिन्, सरकारी अस्पताल भरिभराउ छन्, निजी अस्पतालमा अक्सिजन अभाबमा सेवा दिन कठिन भइरहेको छ । अस्पतालमा उपचाररत बिरामीलाई नै उपचार गराउन कठिन भइरहेको अवस्थामा आकस्मिक भर्ना हुन आएका गम्भिर बिरामीलाई अस्पतालले उपचार गर्दिन भनेर हात झिक्न पनि मिल्दैन । तर अक्सिजन अभाबका कारण कस्ता बिरामी लिने भन्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।
सो अस्पतालमा १२ वटा कोभिड आई.सि.यु तथा ८ वटा भेन्टिलेटर सहित कुल ३० वटा कोभिड शैंयाको व्यवस्थापन गरी उपचार गरिरहेकोे ब्लू क्रस अस्पतालका मेडिकल ईन्चार्ज डा. प्रज्वल मान श्रेष्ठले बताए ।सो अस्पतालमा हाल ३० जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको श्रेष्ठले बताए ।
अक्सिजनको अभाबको समस्या ब्लुक्रस अस्पतालले मात्र झेलिरहेको छैन, यो समस्या देशभरका अस्पतालहरुमा देखिएको छ । ओम अस्पतालले पनि बिज्ञप्ति जारी गर्दै, अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको छ।
केहि दिन अघि मात्र अल्का अस्पतालले पनि बिज्ञप्ति जारी गर्दै अक्सिजन अभाबका कारण उपचार गर्न कठिनाइ भएकोमा अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज संचारकर्मी लगायत सबैमा अनुरोध गरेको थियो ।